प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय शक्ति र सम्पत्ति भएकाले यसमा गर्व गर्नुपर्ने धारणा राखेकी छन्।

सोमबार काठमाडौँको टुँडिखेलमा नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाद्वारा आयोजित तामाङ सांस्कृतिक महोत्सव तथा शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै उनले आफ्नो संस्कृतिमा गर्व गर्न सके मात्र राष्ट्रियता बलियो बन्ने तर्क पनि गरिन्।

आज देशले शान्ति, सुव्यवस्था, सहअस्तित्व र स्थायित्व खोजिरहेको समय भएकाले विविधताबीच सम्मान, सहिष्णुता र आपसी विश्वास अभिवृद्धिमा लागिपर्न पनि उनले आह्वान गरिन्। यस्ता सामाजिक मूल्य र संस्कृति राजनीतिले पनि वरण गर्नुपर्ने आवश्यकतासमेत उनले औँल्याएकी छन्।

उनको भनाइ थियो, ‘आजको समय देशले शान्ति, सुव्यवस्था, सहअस्तित्व र स्थायित्व खोजिरहेको समय हो। विविधता बीचको सम्मान, सहिष्णुता र आपसी विश्वासले मात्रै हामीलाई दिगो स्थिरतातर्फ लैजान सक्छ। आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य नबिर्सने, व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने संस्कार हाम्रो सामाजिक जीवनको अभिन्न अङ्ग हो। आफूले केही कष्ट सहेर भए पनि समाजको भलाइका निम्ति योगदान गर्ने हाम्रो नेपाली समाजको आधारभूत मूल्य हो। यी मूल्य र संस्कृति हाम्रा राजनीतिक व्यवहारमा पनि वरण गर्न सकौँ।’

कार्यक्रममा प्रधानमन्त्री कार्कीले दिएको पूरा मन्तव्य यसप्रकार छः

तामाङ लगायत हिमाली, पहाडी आदिवासी जनजाति समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार अर्थात् घोडा वर्षको पावन अवसरमा म नेपाल सरकार र व्यक्तिगत रूपमा यहाँहरू सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको पाँचौँ ठूलो जनसंख्या रहेको तामाङ समुदायको सामाजिक, सांस्कृतिक तथा धार्मिक जीवनमा सोनाम ल्होछारको विशिष्ट र अत्यन्तै महत्त्वपूर्ण स्थान रहेको छ।

चन्द्र पात्रोमा आधारित यस पर्वले तामाङ जातिको उद्गम, सभ्यता, सांस्कृतिक अस्तित्व र पहिचानलाई प्रतिविम्बित गर्दछ।

जातीय, भाषिक, सांस्कृतिक र धार्मिक विविधता हाम्रो राष्ट्रिय शक्ति हो, सम्पत्ति हो। जब हामी आफ्नो संस्कृतिमा गर्व गर्छौँ, तब मात्र हाम्रो राष्ट्रियता बलियो बन्न सक्छ।

यहाँ बसोबास गर्ने प्रत्येक जातजातिका आ–आफ्नै मौलिक परम्परा, संस्कृति र जीवन पद्धति छन्। ती सबैको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु राज्यको दायित्व हो।

आज हामी सोनाम ल्होछार मनाउँदै छौँ।

यो नयाँ वर्षको सुरुवात मात्र होइन। यो त आत्मशुद्धि, सामाजिक एकता, सांस्कृतिक पुनर्जागरण र नयाँ संकल्पको अवसर पनि हो।

यस अवसरमा गरिने कुलपूजा, लुङ्दर तथा दर्ज्यु फहराउने, लामाद्वारा मन्त्रोच्चारणजस्ता परम्परा धार्मिक चेतना अभिवृद्धि र आत्मशुद्धिका प्रक्रिया हुन्।

आफन्तसँग भेटघाट, मान्यजनबाट टीका र आशिर्वाद ग्रहण, सामूहिक भोजन र सांस्कृतिक भेलाहरू सामाजिक सद्भाव र सम्बन्ध मजबुत बनाउने कडी हुन्।

ल्होछारसँग जोडिएको पञ्चतत्त्व र स्वस्थ जीवन दर्शनले तामाङ समुदायको मौलिक ज्ञान, विज्ञान र जीवन पद्धतिको गहिरो पक्षलाई उजागर गर्दछ।

यस्ता रैथाने ज्ञान, सीप र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानुपर्दछ।

सोनाम ल्होछार नेपालमा मात्र होइन, विश्वका विभिन्न देशहरूमा बसोबास गर्ने तामाङ, ह्योल्मो लगायत आदिवासी जनजाति समुदायले पनि मनाउँदै आएको पाइन्छ।

यसले हाम्रो सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा पुर्‍याइरहेको छ।

सोनाम ल्होछारजस्ता पर्वहरूले हामीलाई आफ्नोपन, मौलिकता र राष्ट्रिय एकताको भाव सिकाउँछन्।

आजको समय देशले शान्ति, सुव्यवस्था, सहअस्तित्व र स्थायित्व खोजिरहेको समय हो।

विविधता बीचको सम्मान, सहिष्णुता र आपसी विश्वासले मात्रै हामीलाई दिगो स्थिरतातर्फ लैजान सक्छ।

आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्य नबिर्सने, व्यक्तिगत स्वार्थभन्दा बृहत्तर हितलाई प्राथमिकता दिने संस्कार हाम्रो सामाजिक जीवनको अभिन्न अङ्ग हो।

आफूले केही कष्ट सहेर भए पनि समाजको भलाइका निम्ति योगदान गर्ने हाम्रो नेपाली समाजको आधारभूत मूल्य हो। 

यी मूल्य र संस्कृति हाम्रा राजनीतिक व्यवहारमा पनि वरण गर्न सकौँ।

अन्त्यमा, नेपाल सरकार सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धनप्रति सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छु।

घोडा वर्षले यहाँहरू सबैको जीवनमा नयाँ ऊर्जा, उत्साह, उमंग, समृद्धि र सफलताको ढोका खोलोस् भन्ने कामनासहित फेरि एकपटक सोनाम ल्होछारको हार्दिक शुभकामना व्यक्त गर्दछु।

धन्यवाद।

२०८२ माघ ५ गते सोमबार

टुँडिखेल, काठमाडौँ