• ६ लाख कर्मचारी
  • २० लाख वर्गमिटरको कार्यस्थल
  • १४.५ खर्ब अमेरिकी डलर वार्षिक कारोबार
  • १५ हजार पार्किङ स्थान
  • १७ सय सभा-सम्मेलन कक्ष
  • २ हजार विद्युतीय गाडी चार्जिङ स्टेसन
  • १ लाख वर्गमिटर हरिया बगैँचा
  • ६ हजार मिटर स्वस्थ पैदल मार्ग
  • २ सयवटा रेस्टुराँ, १५ हजार जना एकसाथ खान मिल्ने
  • १० हजार वर्ग मिटर जिम
  • १ हजार वर्ग मिटर बाल हेरचाह केन्द्र

यो विवरण हो, चिनियाँ इकमर्सवाला कम्पनी जिङडोङ अर्थात् जेडी डट कमको ।

यो तस्बिर यसै कम्पनीको बेइजिङस्थित मुख्यालयको कमान्ड सेन्टरमा लिइएको हो ।

यस ठाउँलाई जिङडोङको सम्पूर्ण सञ्चालनको मस्तिष्क भन्दा हुन्छ । यसको कारोबार, कर्मचारी र प्रभावलाई यहीँबाट नियन्त्रण गरिन्छ, रियलटाइममा ।

इकमर्स प्लाटफर्म जिङडोङको विश्वभर सञ्जाल छ । यसको स्मार्ट लजिस्टिक्स र सप्लाई चेन नियन्त्रण यहीँबाट हुन्छ ।

यहाँ विशाल एलईडी स्क्रिनहरूको पर्खाल छ, जहाँ क्षण-क्षणमा करोडौँ डाटा प्रसारित हुन्छन् । जहाँबाट दैनिक २७ अर्ब युआनको कारोबार, ६ लाखभन्दा बढी कर्मचारीको गतिविधि र ६० करोड उपभोक्ताको अर्डरलाई रियल-टाइममा निगरानी गरिन्छ ।

हरेक मिनेटमा हुने १ करोड ९० लाख युआन (झण्डै ४३ अर्ब नेपाली रुपैयाँ) को २ लाखभन्दा बढी अर्डर कसरी प्रशोधन भइरहेको छ, त्यसको लाइभ नक्सा यहीँ बसेर हेर्न सकिन्छ । यसलाई अर्डर ट्र्याकिङ भनिन्छ ।

चीनभरका १६ सयभन्दा बढी गोदामदेखि हजारौँ ड्रोन र १० लाखभन्दा बढी डेलिभरी स्टाफको रुटलाई एआईले अनुकूलन (Optimize) गरिरहेको हुन्छ । यसलाई लजिस्टिक्स डिस्प्याच भन्ने गरिएको छ ।

वर्षात्, महामारी वा मेगा सेलका बेला अचानक अर्डरको चाप बढ्दा, यहाँबाट तुरुन्त क्राउड-सोर्सिङ र ब्याकअप योजना कार्यान्वयन गरिन्छ । यसलाई आपतकालीन व्यवस्थापन भन्दा हुन्छ ।

यहीँबाट एआईको सहायताले नक्कली उत्पादन, धोखाधडी र साइबर आक्रमणलाई रोकथाम गरिन्छ ।

यस सेन्टरमा डिजिटल ट्विन प्रविधि प्रयोग हुन्छ । यसको अर्थ हो, सम्पूर्ण मुख्य गोदामहरूको थ्रीडी डिजिटल प्रतिमा स्क्रिनमा देखिन्छ । कुनै गोदामको ढोका खुल्यो भने पनि यहाँबाट देख्न सकिन्छ ।

यस केन्द्रसँग १ सेकेन्डभन्दा कम समयमा १ करोड डाटा पोइन्ट प्रशोधन गर्ने क्षमता छ । यो भनेको प्रतिमिनेट २० लाखभन्दा बढी कारोबारको निरीक्षण हो ।

यो पूर्ण रूपमा कागजविहीन र क्लाउडमा आधारित छ, जसले गर्दा विश्वभरका जेडी टोलीले यहाँको अनुमतिमा मात्र निर्णय लिन्छन् ।

मानवीय त्रुटि घटाउन पनि यस सेन्टरले काम गर्छ । यदि कुनै क्षेत्रमा अचानक ५० प्रतिशत बढी अर्डर आयो भने यहाँको एल्गोरिदमले ५ मिनेटभित्र नजिकको गोदामलाई ओभरटाइम वा नयाँ डेलिभरी ब्वाय खटाउने निर्णय गर्छ । यसले ६० करोड ग्राहकलाई ‘आज अर्डर, भोलि हातमा’ को अनुभव सुनिश्चित गर्छ ।

साथै, ६ लाख कर्मचारीको कार्यक्षमता पनि यहीँबाट मापन गरी उनीहरूको प्रोत्साहन निर्धारण गरिन्छ ।

यो केन्द्र संकट व्यवस्थापनको एउटा गेम चेन्जर बन्न पुगेको छ ।

जेडी डट कमको कर्पोरेट परिसरको एक भाग र संस्थापक रिचर्ड लिउ कियाङडोङ

सन् २०२० को कोभिड महामारीमा यही कमान्ड सेन्टरले चीनका विभिन्न सहरहरूमा सडक बन्द भएको बेला, ड्रोन र रोबोटिक डेलिभरीको रुट पुन: तय गरी औषधि र खाद्यान्न समयमै पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यसैले यसलाई चीन सरकारले ‘राष्ट्रिय स्तरको स्मार्ट सप्लाई चेन’ को मान्यता दिएको छ ।

यसै साता बेइजिङको इझुआङ आर्थिक–प्राविधिक विकास क्षेत्रमा अवस्थित जिङडोङको मुख्यालय भ्रमणको अवसर मिल्यो । यो परिसर करिब ३० हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

कुल भवनहरुको क्षेत्रफल जोड्दा २० लाख वर्गमिटर हुन्छ । यो लगभग २८० वटा फुटबल मैदान बराबर हो ।

क्याम्पसमा ६० हजार कार्यस्थल छन् । १७०० वटा सभा-सम्मेलन गर्न मिल्ने कोठा छन् । पार्किङका लागि छुट्याइएका व्यवस्थित स्थान मात्र १५ हजार छन् । २ हजारभन्दा बढी विद्युतीय गाडी चार्जिङ स्टेसन छन् ।

२०० वटा रेस्टुराँमा १५ हजार जना बसेर खान मिल्ने सिट छन् । १० हजार वर्गमिटरको जिम छ । १ हजार वर्गमिटरको बाल हेरचाह केन्द्र छ । यसले कार्यालय, आवास, मनोरञ्जन र व्यापारिक सेवा एकै ठाउँमा प्रदान गर्छ । प्रविधि र प्रकृति (हरियाली) को उत्कृष्ट नमुना अरु के हुन सक्छ र ?

जिङडोङको कुल विश्वव्यापी कर्मचारी संख्या ६ लाखभन्दा बढी छ । यसमा डेलिभरी पार्टनर, प्रविधि विज्ञ, लजिस्टिक्स र रिटेल टोली पर्छन् ।

यस केन्द्रीय कार्यालयमा मात्र ६० हजार कर्मचारी एकसाथ काम गर्छन् । जिङडोङको वार्षिक कारोबार १ ट्रिलियन चिनियाँ युआन नाघेको छ । यो करिब १४.५ खर्ब अमेरिकी डलर बराबर हो । दैनिक कारोबार औसत २७ अर्ब ४० करोड युआन हुन्छ । प्रतिमिनेट १ करोड ९० लाख युआनको कारोबार हुन्छ ।

९० मिनेटमा करिब १७१ करोड युआनको व्यापार हुन्छ ।

जिङडोङको सक्रिय वार्षिक ग्राहक संख्या ६० करोडभन्दा बढी छ । यो संख्या पूरै युरोपेली संघको जनसंख्याभन्दा बढी हो ।

जिङडोङको व्यावसायिक शैली बहुआयामिक छ । यसले बी-टु-सी मोडेलमा आफ्नै गोदामबाट गुणस्तरीय सामान सिधा उपभोक्तासम्म पुर्‍याउँछ ।

खुला प्लेटफर्म (मार्केटप्लेस) मार्फत तेस्रो पक्ष व्यापारीहरूलाई पनि बिक्रीको अवसर दिन्छ । अनलाइन र अफलाइन दुवै च्यानल (ओम्निच्यानल) मा यसको पहुँच छ । एआई, क्लाउड कम्प्युटिङ, रोबोटिक्स र ड्रोन डेलिभरी यसका प्रमुख प्राविधिक आधार हुन् । स्वास्थ्य सेवा (जिङडोङ हेल्थ), डिजिटल भुक्तानी (जिङडोङ फाइनान्स) र स्मार्ट लजिस्टिक्समा यसको विविधीकरण गरिएको छ ।

सम्बन्धित सामग्री:

जिङडोङको लजिस्टिक्स नेटवर्क विश्वकै ठूलो मानिन्छ । यसका चीनभर मात्र १६ सयभन्दा बढी गोदाम छन् । ९० प्रतिशतभन्दा बढी अर्डर २४ घण्टाभित्रै डेलिभरी हुन्छ । स्वचालित गोदाम, ड्रोन र रोबोटिक डेलिभरीमा यो विश्वमै अग्रणी बनेको छ ।

यो कम्पनी हङकङ र न्युयोर्कका ठूला सेयर बजारमा सूचीकृत छ । यसका संस्थापक रिचर्ड लिउ कियाङडोङले अनुमानित सेयर स्वामित्व १२–१४ प्रतिशत छ ।

यस कम्पनीको सबैभन्दा ठूलो संस्थागत सेयरधारक टेन्सेन्ट होल्डिङ्स् हो । उसको स्वामित्व १६–१८ प्रतिशत हाराहारी छ । यस्तै ब्ल्याकरक, भ्यानगार्ड, फिडेलिटीजस्ता अमेरिकी म्युचुअल फन्डहरूको सेयर २०–२५ प्रतिशत छ । हिलहाउस क्यापिटल दीर्घकालीन रणनीतिक लगानीकर्ता हो । बाँकी ४०–४५ प्रतिशत सेयर सार्वजनिक खुद्रा लगानीकर्ता तथा हेज फन्डको स्वामित्वमा छ ।

हामीलाई दिइएको जानकारी अनुसार, यहाँको सेयर संरचनाले दीर्घकालीन रणनीतिक योजना, पूर्वाधार विस्तार र प्रविधिमा ठूलो लगानी गर्न सहज बनाउँछ । ठूलो मात्रामा पुँजी परिचालन गर्न मद्दत गर्छ । विश्वका उत्कृष्ट वित्तीय संस्थाहरूको उपस्थितिले सुशासन र पारदर्शिता बलियो बनाएको छ । बजारको अल्पकालीन दबाबभन्दा माथि उठेर कम्पनीले दीर्घकालीन सोचअनुसार काम गर्न पाउँछ ।

जिङडोङको यस भव्यताले केवल भौतिक संरचना मात्र होइन, यसको आर्थिक क्षमता, प्राविधिक नेतृत्व र सुशासन संरचनाले पनि विश्वव्यापी प्रभाव देखाउँछ । यो ‘स्मार्ट वर्कप्लेस’ को विश्वव्यापी मानक पनि हो ।

हामीले स्मार्ट सिटी र अरु केके थुप्रै गफ गर्‍यौँ । इन्टरनेट पनि चलायौँ । सामाजिक सञ्जालका रोइलोहरुमा समय बितायौँ । तर उत्पादनमूलक काम कति गर्‍यौँ ? प्राप्त प्रविधि र अवसरको उपयोग उत्पादन र रचनात्मकताका लागि कति प्रयोग गर्‍यौँ ? यस्ता भव्यता हेरिसकेपछि सोच्न बाध्य तुल्याउँछ ।

यो संस्था स्थापना भएको जम्मा २३ वर्ष मात्र भएको छ । यसको सुरुवात पनि एउटा औसत खालको कम्प्युटरबाटै गरेका थिए, लियु क्याङ्दोङले । उनले यो कामको थालनी गर्दा हामी संविधानलाई गाली गर्दै थियौँ । त्यसयताको सम्पूर्ण समय हामीले राजनीतिक व्यवस्थापनमै बिताएका छौँ । समस्या अझै संविधानमा देखिरहेका छौँ । यो जाति र त्यो जाति, यो धर्म र त्यो धर्म, पहाड घर कता हो भनेरै समय गुजारिरहेका छौँ ।

(अध्ययन भ्रमणका क्रममा चीनको राजधानी बेइजिङमा रहेका पत्रकार रामबहादुर रावलको फेसबुकबाट)