कोलकाता। निर्वासनमा रहेकी बंगलादेशी लेखिका तथा मानवअधिकारकर्मी तस्लिमा नसरीन करिब १९ वर्षपछि शुक्रबार कोलकाता फर्किएकी छन्। सन् २००७ मा आफ्ना लेखनविरुद्ध भएको हिंसात्मक प्रदर्शनपछि शहर छाड्न बाध्य भएकी नसरीन जुलाई ३१ मा नेताजी सुभाषचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकी हुन्।

रातो किनारा भएको परम्परागत सेतो साडीमा विमानस्थलबाट बाहिरिएकी नसरीनलाई उनका समर्थक, पाठक र मानवअधिकारकर्मीहरूले शङ्ख बजाउँदै तथा रातो, सेतो र सयपत्री फूल वर्षाउँदै स्वागत गरेका थिए। कडा सुरक्षा व्यवस्थाबीच उपस्थित शुभेच्छुकलाई हात जोडेर अभिवादन गरेकी उनले कोलकाता फर्किन पाउँदा अत्यन्त खुसी लागेको बताइन्। नसरीनले यस यात्रालाई सामान्य भ्रमणभन्दा बढी भावनात्मक घरफिर्तीका रूपमा व्याख्या गरेकी छन्। आफूले कोलकाता स्वेच्छाले नछाडेको र एक दिन फर्किने आशा कहिल्यै नत्यागेको उनको भनाइ छ।

नसरीन अगस्ट १ मा कोलकाताको रवीन्द्र सदनमा आयोजित कट्टरतावादविरोधी साहित्यिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ। सेक्युलर मिसन ट्रस्टले आयोजना गर्ने कार्यक्रममा धर्मनिरपेक्षता, अभिव्यक्ति स्वतन्त्रता र धार्मिक कट्टरताविरुद्ध साहित्य तथा बौद्धिक क्षेत्रको भूमिकाबारे छलफल हुनेछ। उनले आफ्ना कविता वाचन गर्नुका साथै निर्वासनका वर्ष र पश्चिम बंगाल छाड्नुपरेको परिस्थितिबारे संवाद गर्ने जनाइएको छ। कार्यक्रममा पश्चिम बंगालका मुख्यमन्त्री सुवेन्दु अधिकारी र वरिष्ठ साहित्यकार शीर्षेन्दु मुखोपाध्यायसहित विभिन्न लेखक, कवि तथा बुद्धिजीवी सहभागी हुने अपेक्षा गरिएको छ। नसरीनको सम्मानमा नागरिक अभिनन्दनसमेत आयोजना गरिने बताइएको छ।

महिला अधिकार, पितृसत्ता, धार्मिक कट्टरता र अभिव्यक्ति स्वतन्त्रताबारे निर्भीक लेखनका कारण नसरीन लामो समयदेखि विवाद र धम्कीको सामना गर्दै आएकी छन्। सन् १९९३ मा प्रकाशित उपन्यास ‘लज्जा’पछि बंगलादेशमा उनीविरुद्ध तीव्र विरोध र ज्यान मार्ने धम्की बढेपछि उनले सन् १९९४ मा देश छाडेकी थिइन्। विभिन्न देशमा निर्वासन जीवन बिताएपछि उनी सन् २००४ मा कोलकातामा बस्न थालेकी थिइन्।

तर उनको आत्मकथा ‘द्विखण्डितो’का अंशलाई लिएर सन् २००७ को नोभेम्बरमा कोलकातामा हिंसात्मक प्रदर्शन, आगजनी र नाकाबन्दी भएपछि सुरक्षा अवस्था नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो। तत्कालीन वाममोर्चा सरकारले उनलाई पश्चिम बंगाल छाड्न लगाएको थियो। त्यसपछि उनलाई पहिले जयपुर र पछि नयाँदिल्ली लगिएको थियो। उनी हाल भारतमा दीर्घकालीन आवासीय अनुमतिका आधारमा बस्दै आएकी छन्।

नसरीनले सीमाना र काँडेतारले आफ्नो मनमा बंगाललाई विभाजित गर्न नसकेको भन्दै बंगलादेश फर्किने ढोका बन्द रहँदासम्म पश्चिम बंगाल नै आफ्नो घर भएको बताएकी छन्। उनको कोलकाता आगमनलाई व्यक्तिगत घरफिर्ती मात्र नभई कट्टरताले दबाउन खोजेको अभिव्यक्ति स्वतन्त्रताको आवाज पुनः सार्वजनिक मञ्चमा फर्किएको प्रतीकका रूपमा समेत हेरिएको छ।