जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले कर्फ्यु जारी गरिएका क्षेत्रमा शान्ति–सुरक्षा कायम गर्न नेपाली सेना परिचालनका लागि पत्राचार गरेको छ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले बिहीबार विष्णुदल गण, महेन्द्रनगर ब्यारेकलाई पत्र पठाउँदै साउन १४ गते दिउँसो ३ः३० बजेदेखि अर्को आदेश नभएसम्म सेना परिचालन गर्न अनुरोध गरेका हुन्।

प्रशासनले पूर्वतर्फ बेलौनी रोडस्थित एमएयू स्टिलबाट पाँच सय मिटर पूर्व पेट्रोल पम्प, हुलाकी सडकदेखि राष्ट्रिय प्राथमिक विद्यालयसम्म कर्फ्यु जारी गरेको छ। पश्चिमतर्फ सिनुरजोडा, साहनी, मणिमण्डप, नेपाल नर्सरी, इस्कोन जनकपुर, दुधमती पुल, बेला र कदरी मस्जिद क्षेत्रलाई कर्फ्युको सीमाभित्र राखिएको छ।

त्यस्तै, उत्तरतर्फ लक्ष्मीनिया हाटबजार चोक हुँदै पश्चिम सिनुरजोडा चोकसम्म र पूर्वमा लक्ष्मीपुर बगेवासम्म तथा दक्षिणतर्फ नगराइन नगरपालिकादेखि नगराइन चोक वरपरको क्षेत्रमा पनि कर्फ्यु लागू गरिएको पत्रमा उल्लेख छ।

कर्फ्यु जारी गरिएका क्षेत्रमा शान्ति व्यवस्था कायम गर्न नेपाली सेनाको समेत आवश्यकता देखिएको भन्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को १(क)२ बमोजिम सेना परिचालनका लागि अनुरोध गरेको हो।

कारबाहीका क्रममा शान्ति–सुरक्षाको अवस्था नियन्त्रणमा राख्न आवश्यकताअनुसार न्यूनतम सैनिक शक्ति प्रयोग गर्दै गोली चलाउन सक्नेसम्मको अधिकार नेपाली सेनालाई प्रत्यायोजन गरिएको पत्रमा उल्लेख छ।

प्रशासनले उक्त पत्रको बोधार्थ गृह मन्त्रालयलाई समेत पठाएको छ।