काठमाडौं — मदन पुरस्कार गुठीले वर्ष २०८२ को मदन पुरस्कारका लागि उत्कृष्ट १० कृतिको श्रेष्ठ सूची सार्वजनिक गरेको छ। पुरस्कारका लागि गुठीमा प्राप्त विभिन्न विधाका कुल २९८ पुस्तकमध्येबाट १० कृति छनोट गरिएको हो। गुठीले सार्वजनिक गरेको सूचीमा आख्यान, कथा, कविता, इतिहास, संस्कृति तथा आत्मअन्वेषणसँग सम्बन्धित कृति समावेश छन्। यीमध्ये एउटा कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार प्रदान गरिनेछ।

श्रेष्ठ सूचीमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’, वीणा जोशी राजभण्डारीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ परेका छन्।

छनोट भएका कृतिहरूले नेपाली समाज, इतिहास, संस्कृति, मानवीय मनोविज्ञान, अस्तित्व, विस्थापन, महिला अनुभव र आत्मपहिचानका विविध पक्षलाई समेटेका छन्। केशवराज ज्ञवालीको ‘अज्ञात’ ऐतिहासिक पृष्ठभूमिमा लेखिएको उपन्यास हो। यसले गोर्खा राज्य विस्तार र नेपाल–अंग्रेज युद्धका क्रममा इतिहासमा नाम उल्लेख नभएका सैनिक, किसान, भरिया तथा सर्वसाधारणको योगदानलाई केन्द्रमा राखेको छ। ज्ञवालीको यसअघि ‘अर्को भोर’ कथासङ्ग्रह प्रकाशित भएको थियो। उक्त कृतिले पद्मश्री साहित्य पुरस्कारसमेत प्राप्त गरेको थियो। ‘अज्ञात’ उनको दोस्रो पुस्तकाकार आख्यान हो।

केशव दाहालको ‘इथा’ ऐतिहासिक, पौराणिक र दार्शनिक विषयवस्तुमा आधारित उपन्यास हो। यसमा प्राचीन वैशाली, लिच्छवि सभ्यता, मञ्जुपट्टन, सामाजिक संघर्ष र महिला स्वाभिमानका विषय समेटिएका छन्। राजनीतिक तथा सामाजिक लेखनमा सक्रिय दाहालका ‘नेपाली राजनीतिको पुनर्गठन’, ‘मोक्षभूमि’ र ‘माधवी ओ माधवी’ यसअघि प्रकाशित छन्। ‘मोक्षभूमि’ले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको थियो। ‘इथा’ उनको दोस्रो उपन्यास हो।

ललित विष्टको ‘उत्कर्ष’ कथासङ्ग्रह हो। यसमा मानवीय अवचेतन, सामाजिक विसङ्गति, सम्बन्धका जटिलता र अस्तित्वसँग सम्बन्धित कथा समावेश छन्। विष्टको पहिलो कथासङ्ग्रह ‘मोहपथ’ मदन पुरस्कारको श्रेष्ठ सूचीमा परेको थियो। उक्त कृतिले कर्णाली साहित्य समाज कृति पुरस्कारसमेत प्राप्त गरेको थियो। ‘उत्कर्ष’ उनको दोस्रो कथासङ्ग्रह हो।

रोशनकुमार झाको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ ऐतिहासिक अनुसन्धानमा आधारित बृहत् कृति हो। पुस्तकले सिम्रौनगढ र काठमाडौं उपत्यकाबीचको ऐतिहासिक, राजनीतिक, धार्मिक, सांस्कृतिक तथा वैवाहिक सम्बन्धको विस्तृत अध्ययन प्रस्तुत गरेको छ। इतिहासका अध्येता तथा अनुसन्धानकर्ता झाको यो कृति सिम्रौनगढ र नेपालमण्डलबीचको सम्बन्धबारे तयार गरिएको महत्त्वपूर्ण अनुसन्धानात्मक प्रकाशन मानिएको छ।

वीणा जोशी राजभण्डारीको ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ नेपाली नृत्य, संस्कृति र परम्परासँग सम्बन्धित अनुसन्धानात्मक कृति हो। पुस्तकमा नेवार समुदायमा प्रचलित मुकुन्डोनाचको इतिहास, धार्मिक विधि, प्रस्तुति शैली, कलाकार, गुठी व्यवस्थापन र रंगमञ्चीय पक्षबारे चर्चा गरिएको छ। वरिष्ठ नृत्यशास्त्री तथा अनुसन्धानकर्ता जोशीले लामो समयदेखि नेपालका परम्परागत नृत्यको अध्ययन गर्दै आएकी छन्। उनले नृत्य विधातर्फ राष्ट्रिय स्तरको प्रज्ञा पुरस्कारसमेत प्राप्त गरिसकेकी छन्।

उमा सुवेदीको ‘परिधि’ मानवीय मनोविज्ञानमा आधारित उपन्यास हो। कृतिले मानिसभित्रका भ्रम, विषाद, असन्तुलन, सामाजिक दबाब र विभिन्न परिस्थितिमा मानिसले धारण गर्ने मुखुण्डोलाई उजागर गरेको छ। सुवेदीका ‘तोदा’, ‘इति’ र ‘सयौँ पुतली’ यसअघि प्रकाशित छन्। उनका कृतिमा महिला अनुभव, स्मृति, मनोविज्ञान र समाजले निर्माण गरेका सीमाका विषय प्रमुख रूपमा आउने गरेका छन्।

सीमा आभासको ‘महायुग’ चार पुस्ताको कथा समेटिएको उपन्यास हो। कृतिमा महिलाको आत्मजागरण, दबाइएको स्त्रीशक्ति, पारिवारिक संरचना र सामाजिक रूपान्तरणलाई प्रस्तुत गरिएको छ। आभासका ‘साँझको सङ्घार’, ‘टापुका स्वरहरू’ र ‘म स्त्री अर्थात् आइमाई’ यसअघि प्रकाशित छन्। ‘म स्त्री अर्थात् आइमाई’ मदन पुरस्कारको श्रेष्ठ सूचीमा समेत परेको थियो। ‘महायुग’ उनको पहिलो उपन्यास हो।

कवि तथा गीतकारका रूपमा स्थापित श्रवण मुकारुङको ‘सलह’ उनको पहिलो उपन्यास हो। उपन्यासले पूर्वी पहाडको प्रकृति, संस्कृति, विस्थापन, गरिबी र मानवीय संघर्षलाई समेटेको छ। यसको प्रमुख पात्र नायुमाको गाउँदेखि धरान र काठमाडौंसम्मको यात्रामार्फत प्रेम, अभाव, सुकुमवासी जीवन र सामाजिक उपेक्षाको चित्रण गरिएको छ। मुकारुङका ‘देश खोज्दै जाँदा’, ‘जीवनको लय’ र ‘बिसे नगर्चीको बयान’ कवितासङ्ग्रह प्रकाशित छन्। उनका ‘हिउँको दरबार’ र ‘सुन रे सियाराम’ गीतसङ्ग्रह पनि प्रकाशित भइसकेका छन्।

डा. नवराज केसीको ‘स्वस्पर्श’ आत्मपहिचान, आशा, खुसी, प्रेरणा र जीवनबोधसँग सम्बन्धित कृति हो। बालरोग विशेषज्ञ केसीको पहिलो पुस्तक ‘शून्यको मूल्य’ हो। उक्त कृतिमा कर्णाली क्षेत्रका मानिसको जीवन, स्वास्थ्य, अभाव र संघर्षका वास्तविक अनुभवलाई समेटिएको थियो। ‘स्वस्पर्श’ उनको दोस्रो पुस्तक हो।

नदीशको ‘हिउँद’ कवितासङ्ग्रह हो। यसमा प्रेम, मौनता, पर्यावरण, स्मृति र मानवीय अस्तित्वका सूक्ष्म अनुभूति अभिव्यक्त भएका छन्। पेशाले इन्जिनियर रहेका नदीशको पहिलो कवितासङ्ग्रह ‘हाँगामा झुन्डिएका आत्मकथा’ हो। ‘हिउँद’ उनको दोस्रो कवितासङ्ग्रह हो।

मदन पुरस्कार गुठीले नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिमध्येबाट हरेक वर्ष एउटा कृतिलाई मदन पुरस्कार प्रदान गर्दै आएको छ। सार्वजनिक श्रेष्ठ सूचीमा स्थापित लेखकसँगै नयाँ र फरक विषयमा लेखिरहेका स्रष्टाका कृति पनि समावेश भएका छन्। गुठीले आगामी चरणमा यी १० कृतिमध्येबाट वर्ष २०८२ को मदन पुरस्कार प्राप्त गर्ने कृतिको घोषणा गर्नेछ।