सुशीला कार्की सरकारका एक मात्र जेनजी मन्त्री युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्।

उनले आज सोमबार बिहान मात्र प्रधानमन्त्रीलाई विद्युतीय माध्यमबाट राजीनामापत्र पठाएका हुन्।

गुप्ताले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारी अर्का मन्त्रीलाई दिने विषयमा प्रधानमन्त्री कार्कीले परामर्श गर्दै छिन्।

गुप्ताले सोमबार साँझ मात्र प्रधानमन्त्री कार्कीलाई बालुवाटारमा भेटी राजीनामा दिने विषयमा जानकारी गराएका थिए।

गुप्ता अब रास्वपाको उम्मेदवारका रुपमा सिरहा-१ बाट चुनाव लड्ने भएका छन्। चुनावी तयारीका लागि उनी मधेस झरिसकेका छन्।

गुप्ता बालेन शाहसँग निकट रहेर काम गर्दै आएका छन्।

यसअघि हन्ड्रेड ग्रुप नामक युवाहरुको समूह बनाई सामाजिक क्रियाकलापमा सक्रिय रहँदै आएका थिए।

राजीनामापत्रमा गुप्ताले लेखेका छन्-

सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय
सिंहदरबार, काठमाडौं

महोदय,

विषय: मन्त्री पदबाट राजीनामा सम्बन्धमा ।

२०८२ भदौ २३ गतेको जेन-जी आन्दोलन, तत्कालीन सरकारको दमन तथा त्यसपश्चात् उत्पन्न जनविद्रोहबाट सिर्जित परिस्थितिमा राष्ट्रिय हितलाई प्राथमिकतामा राखी देशलाई विषम अवस्थाबाट निकास दिन ‘आवश्यकताको सिद्धान्तको आधारमा सम्माननीयज्यूको नेतृत्वमा गठित नेपाल सरकारमा जेन जी पुस्ताको प्रतिनिधित्व समेत हुने गरी मलाई युवा तथा खेलकुद मन्त्री पदको जिम्मेवारी प्रदान गरी देश र समाजको हितमा काम गर्ने अवसर दिनुभएकोमा तपाईप्रति तथा नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

सरकार गठन हुँदै निर्वाचनको मिति तोकी निष्पक्ष निर्वाचन सम्पन्न गराउने गहन र विशेष जिम्मेवारीका साथ बनेको वर्तमान सरकार विशेष परिस्थितिमा गठन भएको गैरदलीय नागरिक सरकार हो । हालसम्म म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहे तापनि, आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिने क्रममा दलगत आबद्धता रहन जाने भएकाले यस गैरदलीय सरकारको गरिमा, उद्देश्य र विशेषतालाई सम्मान तथा समर्थन गर्दै म आजकै मितिदेखि नेपाल सरकारको मन्त्री पदबाट स्वेच्छिक रूपमा राजीनामा प्रस्तुत गर्दछु ।

मन्त्रालय सम्हाल्ने अवधिमा प्राप्त सहयोग, सद्भाव तथा सहकार्यका लागि मन्त्रिपरिषद्का सदस्यहरू, कर्मचारी वर्ग तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु। पदमा रहँदा वा नरहँदा सदैव राष्ट्र र जनताको हितका लागि आफ्नो भूमिका इमानदारीपूर्वक निर्वाह गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछु ।
धन्यवाद ।

भवदीय,
बब्लु गुप्ता

मन्त्री, युवा तथा खेलकुद
नेपाल सरकार