काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले झापा-५ मा चुनाव लड्ने निर्णय लिँदै आफ्नो पदबाट राजीनामा दिएका छन्।

झापा-५ त्यही क्षेत्र हो, जहाँबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि चुनाव लड्दै छन्। झापा ओलीको गृहजिल्ला हो।

यसअघि पनि बालेन र ओलीबीच नोकझोँक चल्दै आएको थियो।

बालेनले चुनाव लड्न झापामा ओलीकै निर्वाचन क्षेत्र रोजेपछि देशभर चुनावी सरगर्मी एकसाथ उच्च डिग्रीमा पुगेको छ।

प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न बालेनले पदबाट राजीनामा दिएसँगै उनको राजीनामापत्रमाथि उपप्रमुख सुनीता डंगोलले लगाएको तोकमा प्रयोग भएका शब्दहरुका बान्कीको चर्चा भइरहेको छ।

सुन्दर क्यालिग्राफीजस्तो देखिने तोकमा सुनीताले प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्दै लेखेकी छन्, ‘कामपाका प्रमुख श्री बालेन्द्र शाहले आज मिति २०८२-१०-४ मा पेस गर्नुभएको राजीनामा संविधानको धारा २१६ (८)(क) को प्रयोजनको लागि रीतपूर्वक दर्ता गरी अभिलेखबद्ध गर्नहुन।’

उपप्रमुखलाई सम्बोधन गर्दै बालेनले राजीनामापत्रमा लेखेका छन्, ‘प्रस्तुत विषयमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेस गर्दछु। यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’