राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) का नवनियुक्त अध्यक्ष आदर्शकुमार श्रेष्ठले आज बुधबार औपचारिक रूपमा पदभार ग्रहण गर्नुभएको छ।
कोषका सदस्य सचिव डा. नरेश सुवेदीले उहाँलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। श्रेष्ठलाई नेपाल सरकारका प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीद्वारा नियुक्त गरिएको हो। पछिल्लो निर्वाचनबाट झण्डै दुई तिहाइ बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कार्की सरकारका निर्णयमा कुनै आपत्ति नरहेको बताइसक्नुभएको छ । प्रधानमन्त्री कार्कीले पनि पछिल्ला निर्णय गर्नुअघि रास्वपा नेतृत्वलाई विश्वासमा लिने गर्नुभएको थियो ।
नवनियुक्त अध्यक्ष श्रेष्ठ एक अनुभवी अधिवक्ता तथा सार्वजनिक प्रशासन र डिजिटल सुशासनका जानकार व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीशहरुका निजी सहायकको भूमिका निर्वाह गरिसक्नुभएका श्रेष्ठ पछिल्लो समय प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो।
यस क्रममा उहाँले उच्चस्तरीय निर्णय प्रक्रिया, सरकारी समन्वय तथा नीति कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहँदा उहाँले मन्त्रालयहरू, संवैधानिक निकायहरू तथा कूटनीतिक निकायसँग समन्वय गर्दै कार्यकारी प्रणालीलाई प्रभावकारी बनाउने काम गर्नुभएको थियो।
यसअघि सर्वोच्च अदालतमा कार्यरत रहँदा उहाँले न्यायिक प्रशासन तथा डिजिटल प्रणाली विकासमा योगदान पुर्याउनुभएको थियो। सूचना प्रविधि तथा कानुनी क्षेत्रको संयोजनमार्फत सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याउने उहाँको अनुभव उल्लेखनीय मानिन्छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका–२ स्थायी घर भएका ३८ वर्षीय श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र कानुनमा उच्च शिक्षा हासिल गर्नुभएको छ भने हाल कानुन विषयमा स्नातकोत्तर (एलएलएम) अध्ययनरत हुनुहुन्छ।
अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा प्रकृति संरक्षण, जैविक विविधता व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।