प्रधानमन्त्री सुशीला कार्की हालै सम्पन्न निर्वाचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सुरक्षा निकायका पदाधिकारी, कर्मचारी तथा सम्पूर्ण मतदाताप्रति धन्यवाद व्यक्त गर्न कर्णाली हुँदै मधेस पुग्नुभएको छ।

बिहीबार मुगुको रारा हुँदै जुम्लाको खलंगा पुगेर निर्वाचन सम्बद्ध सरकारी अधिकारी तथा स्थानीयसँग अन्तर्क्रिया गर्नुभयो। आज शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेत, मधेस प्रदेशको राजधानी जनकपुर र महोत्तरीको गौशालामा आयोजित कार्यक्रममा उहाँले चुनौतीपूर्ण परिस्थितिका बाबजुद निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका सुरक्षा अधिकारी, प्रशासनिक कर्मचारी तथा सरोकारवाला निकायहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो।

प्रधानमन्त्री कार्कीले सुरक्षा निकायका प्रमुख तथा निर्वाचन व्यवस्थापनमा संलग्न अधिकारीहरूलाई बधाई दिँदै उहाँहरूको समर्पण, जिम्मेवारी र व्यावसायिकताप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “हामीले बनाएको योजना अनुसार तपाईंहरूले उत्कृष्ट रूपमा कार्यान्वयन गर्नुभयो। हामीले लिएको सङ्कल्पलाई तपाईंहरूले सफलतापूर्वक पूरा गरिदिनुभयो। यसका लागि म आभारी छु। मान्छेहरू मलाई बधाई भनिरहेका छन्। यसको वास्तविक हकदार तपाईंहरू हो।”

कार्यक्रममा सुरक्षा निकायका अधिकारीहरूले पनि यस्तो महत्वपूर्ण राष्ट्रिय जिम्मेवारी वहन गर्न पाएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री कार्कीजस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो।

प्रधानमन्त्री कार्की निर्वाचनअघि पनि देशका विभिन्न भागमा पुगेर निर्वाचनमा खटिने जनशक्तिलाई हौसला प्रदान गर्नुभएको थियो। आफ्नो कार्यकालको अन्त्यमा पनि उहाँ शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्न योगदान दिनेहरूको सम्मानका लागि कर्णाली र मधेसका विभिन्न ठाउँ पुग्नुभएको हो।

यस क्रममा प्रधानमन्त्री कार्कीले प्रसिद्ध पर्यटकीय स्थल राराको भ्रमण गर्नुका साथै जुम्लाको दत्तात्रय मन्दिर‌ र जनकपुरधामको जानकी मन्दिरको पनि दर्शन गर्नुभयो।

उहाँले मन्दिरमा पूजा-अर्चना गर्दै देशको शान्ति, समृद्धि र समग्र जनताको कल्याणको कामना गर्नुभयो। उहाँले साम्प्रदायिक सद्भाव र एकताको वातावरण कायम रहोस् भन्ने शुभेच्छा पनि व्यक्त गर्नुभयो।

थप तस्बिर: