अहिले बजारमा अनेकथरी जेनजीहरु देखापरेका छन् । जेनजीको नाम र आवरण दिएर स्वार्थको रोटी सेक्ने प्रवृत्ति पनि नदेखिएको होइन । कतिपयले संविधान नै खारेज गर्नेदेखि सुशीला कार्की नेतृत्वको सरकार नै हटाएर सर्वपक्षीय सरकार बनाउनुपर्ने भन्नेसम्मका आवाज चर्काउन खोजेको देखिन्छ ।
तर आन्दोलनको अग्रपंक्तिमा रहेका वास्तविक जेनजीहरु भने यस्ता अतिवादी विचारको विपक्षमा छन् । तिनैमध्येकी एक हुन्, रक्षा बम ।
जेनजी आन्दोलनकी प्रमुख अगुवा एवं जेनजी फ्रन्टकी संयोजक बम नेपाली राजनीतिमा शैली र संस्कार सुधारको अभियानमा सक्रिय रहँदै आएकी हुन् । भदौ २३ र २४ गते सम्पन्न जेनजीको असाधारण आन्दोलनपछि भने उनी राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित भइन्। अब भने उनी केवल आन्दोलनकारी नेतृ मात्र होइनन्, संविधान, लोकतान्त्रिक व्यवस्था र संस्थागत प्रक्रियामार्फत् देशलाई निकास दिनुपर्छ भन्ने दृढ मान्यता बोकेकी बौद्धिक र चेतनशील व्यक्तित्वका रूपमा चिनिन पुगेकी छन् ।
देशमा दीर्घकालीन राजनीतिक अस्थिरता, पुराना नेताहरुको एकमनापूर्ण रजगज, सुशासनको अभाव र भ्रष्टाचारप्रति बढ्दो जनआक्रोशको पृष्ठभूमिमा रक्षा बम जेनजी आन्दोलनको अग्रपंक्तिमा आइन् । उनका अनुसार जेनजी आन्दोलन कुनै व्यक्ति वा दलविरुद्ध लक्षित नभई पुरानो कार्यशैली, ‘म्युजिकल चेयर’ जस्तो सत्ता खेल र नेतृत्वको जिम्मेवारीविहीन प्रवृत्तिविरुद्धको सामूहिक चेतनाको अभिव्यक्ति हो । यही चेतनाले दलहरूभित्र पुस्ता हस्तान्तरण, आन्तरिक लोकतन्त्र र पारदर्शी नेतृत्वको माग अघि सारेको छ ।
रक्षा बम संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति स्पष्ट प्रतिबद्धता राख्छिन् । आन्दोलनको मूल उद्देश्य लोकतन्त्रलाई कमजोर बनाउने होइन, बरु निर्वाचन, संसद् र संवैधानिक संस्थामार्फत् सुधार र रूपान्तरण सम्भव छ भन्ने उनको विश्वास छ । यही कारण उनी वर्तमान अन्तरिम सरकारले संविधानसम्मत रूपमा तोकिएको मितिमा निर्वाचन गराएर देशलाई लोकतान्त्रिक निकासतर्फ लैजानु नै प्रमुख दायित्व ठान्छिन् ।
उनका दृष्टिमा यो सरकार संविधान परिवर्तन र आमूल सुधार गर्न बनेको होइन। निर्वाचन सम्पन्न गरी जिम्मेवारी हस्तान्तरण गर्ने पुल मात्र हो ।
जेनजी आन्दोलनको वैधानिकता र संस्थागत मान्यताका लागि उनले निर्णायक भूमिका खेलेकी छन् । भदौ २३ र २४ को आन्दोलनलाई ‘जेनजी जनआन्दोलन’ का रूपमा स्थापित गर्नु, आन्दोलनलाई अपराधीकरण हुन नदिन राजपत्रमा प्रकाशित गराउनु र सरकारसँग १० बुँदे सम्झौता गर्नु उनका महत्त्वपूर्ण पहल हुन् । सम्झौतामा हस्ताक्षरमै सीमित नरही कार्यान्वयनका लागि निरन्तर संवाद र खबरदारी आवश्यक ठान्ने उनी आन्दोलनलाई दीर्घकालीन सुधारको आधार बनाउन चाहन्छिन् ।
राजनीतिक शक्तिको रूपमा जेनजी अघि बढ्ने विषयमा रक्षा बम व्यावहारिक र यथार्थवादी दृष्टिकोण राख्छिन् । उनका अनुसार नयाँ दल खोल्नु मात्र समाधान होइन, साझा एजेन्डालाई विद्यमान दलहरूले अपनत्व लिएर अघि बढ्नु पनि आन्दोलन संस्थागत हुने एउटा मार्ग हो । जेनजीका मुद्दा सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, संरचनागत र नीतिगत सुधार कुनै दलविशेषका नभई राष्ट्रिय एजेन्डा भएकाले सबै दलले ग्रहण गर्नुपर्ने उनी बताउँछिन् ।
नेतृत्व हस्तान्तरण र पुस्तान्तरणका सवालमा पनि उनी सन्तुलित धारणा राख्छिन् । जेनजी आन्दोलनले केवल उमेरको आधारमा नेतृत्व परिवर्तन खोजेको होइन, नयाँ सोच, दृष्टि र इमानदारीसहितको नेतृत्व चाहेको उनको भनाइ छ । ‘निर्णय प्रक्रियादेखि राज्य सञ्चालनका सबै तहमा जेनजीको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनु नै आन्दोलनको म्यान्डेट हो,’ उनी प्रस्ट्याउँछिन् ।
हिंसाप्रति स्पष्ट अस्वीकार, विधिसम्मत राजनीति र संवैधानिक प्रक्रियामै विश्वास राख्ने रक्षा बम, भदौ २४ गतेको हिंसात्मक घटनालाई पनि राज्य दमन र परिस्थितिजन्य आक्रोशको परिणामका रूपमा व्याख्या गर्छिन् । उनले घटनाको निष्पक्ष अनुसन्धानको माग गर्दै आफू पनि अनुसन्धानका लागि तयार रहेको बताएकी छन् ।
तसर्थ, रक्षा बम जेनजी आन्दोलनकी अगुवा मात्र नभई नेपालको संविधान, लोकतान्त्रिक व्यवस्था र निर्वाचन प्रक्रियामार्फत् देशलाई स्थायित्व, सुशासन र रूपान्तरणतर्फ लैजान सकिन्छ भन्ने विश्वास राख्ने एक सचेत, बौद्धिक र जिम्मेवार नेतृ हुन् । आन्दोलनबाट उठेको आवाजलाई विधिसम्मत राजनीतिको धारमा रूपान्तरण गर्नु नै उनको राजनीतिक दर्शन र प्रतिबद्धताको केन्द्रमा देखिन्छ ।
युवालाई राजनीतितर्फ आकर्षित गर्न शिक्षा, अवसर र राजनीतिक संस्कार आवश्यक ठान्ने उनी पहिलोपटक मतदान गर्ने युवालाई सचेत मतदाता बन्न आग्रह गर्छिन् । लोकतन्त्रप्रतिको गहिरो आस्था र विश्वासको अभिव्यक्तिसाथ उनी भन्छिन्, ‘एउटा भोटले धेरै कुरा परिवर्तन गर्न सक्छ।’
संविधानको पक्षमा सतीसाल बनेकी रक्षा बम
व
विधिन्युज
२०८२ माघ ३ गते ०६:१६