जीवनमा सन्तोष, संयम, धैर्यता, विवेक, कर्म, सत्य र आध्यात्मिक अनुशासनले हाम्रो व्यक्तिगत चरित्र निर्माण गर्छ। यही चरित्र नागरिक चेतना निर्माणको आधार हो। जब नागरिकले आफ्नो मन नियन्त्रण गर्न सक्छ, क्रोधमा मौन रहन सक्छ र दुःखमा धैर्य राख्न सक्छ, तब उसले केवल आफ्नो जीवनमा सफलता पाउँछ भन्ने मात्र होइन, समाजमा स्थायित्व र शान्ति पनि सुनिश्चित गर्छ।२०८२ सालको प्रतिनिधि सभा निर्वाचन नेपालका लागि केवल निर्वाचन प्रक्रिया होइन; यो लोकतान्त्रिक संस्कारको परीक्षा पनि हो। निर्वाचन आचारसंहिता कानुनी दस्तावेज मात्र होइन, यो आत्मनियन्त्रणको सार्वजनिक घोषणा हो।

जीवनका सूक्तिहरू र लोकतान्त्रिक संस्कार गहिरो रूपमा मिल्छन्—“भीडले हौसला दिन्छ तर पहिचान गुमाइदिन्छ।” भीडको आवाज ठूलो हुन सक्छ, तर विवेकको आवाज गहिरो हुन्छ। निर्वाचनको समय भावनाको ज्वारभाटा हो—नारा, आरोप, आश्वासन र उत्तेजनाले वातावरण तताउँछ। तर राष्ट्रको भविष्य क्षणिक आवेगले होइन, स्थिर सोचले निर्धारण हुन्छ।राजनीतिक दलका लागि पनि यही सन्देश लागू हुन्छ—रणनीति असफल हुन सक्छ। असफलताबाट हिंसातर्फ मोडिनु दुर्बलता हो; संवाद र सुधारतर्फ बढ्नु परिपक्वता हो। “खाली खडा भएर पानी हेर्दैमा नदी तर्न सकिँदैन।” परिवर्तन चाहनेहरूले आलोचना गरेर पुग्दैन; मतदान, नीति बहस, नागरिक सहभागिता र उत्तरदायित्व माग गर्ने अभ्यास आवश्यक हुन्छ। निष्क्रिय आशा परिवर्तनको शत्रु हो।

निर्वाचन आचारसंहिता मूलतः बाह्य नियन्त्रणको नियम होइन, आन्तरिक अनुशासनको सार्वजनिक घोषणा हो। जसरी सजग व्यक्ति क्रोधमा मौन रहन सिक्छ, दुःखमा धैर्य राख्न सिक्छ र उत्साहमा अन्धो निर्णय गर्दैन, त्यसरी नै राजनीतिक दल र उम्मेदवारले पनि आवेगभन्दा विवेकलाई प्राथमिकता दिनुपर्छ।आचार्य चाणक्यले जीवनका लागि तीन अमूल्य मन्त्र दिएका छन्—“आनन्दको बेला वचन नदेऊ, क्रोधको बेला जवाफ नदेऊ, दुःखको बेला निर्णय नलेऊ।” यी वाक्य राष्ट्र जीवनका लागि पनि उत्तिकै प्रासङ्गिक छन्। जब राज्य आनन्दको उन्मादमा हुन्छ, उसले अविवेकी प्रतिबद्धता गर्न सक्छ। जब सत्ता क्रोधमा हुन्छ, प्रतिशोधी निर्णय लिन सक्छ। जब राष्ट्र दुःख र सङ्कटमा हुन्छ, त्यतिबेला हतारमा लिइएका नीतिले दीर्घकालीन क्षति पुर्‍याउन सक्छ।

२०८२ सालको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल पुनः आत्मपरीक्षणको घडीमा उभिएको छ। निर्वाचन सत्ता परिवर्तनको यान्त्रिक प्रक्रिया मात्र होइन; यो जनआस्था, नैतिकता र उत्तरदायित्वको परीक्षण हो। निर्वाचन आचारसंहिता केवल कानुनी दस्तावेज मात्र होइन, लोकतान्त्रिक आत्माको दर्पण हो। यदि आचारसंहिता पालन गरिन्छ भने लोकतन्त्र सुदृढ हुन्छ; उल्लङ्घन भएमा लोकतन्त्र कमजोर बन्छ। मनुष्यको जीवन योजना, लगनशीलता र धैर्यता बिना सफल हुन सक्दैन। तर योजना मात्रै पर्याप्त छैन; प्रेरणा पनि अपरिहार्य छ। प्रेरणा बिना व्यक्ति आफ्ना लक्ष्यमा स्थिर रहन सक्दैन, चुनौती सामना गर्न सक्दैन र जीवनको गहिरो अर्थ पत्ता लगाउन असफल हुन्छ। हामी प्रायः आफ्नो जीवनसँग गुनासो मात्र गर्छौं। असफल भएका र अधुरा काम सम्झेर समय खेर फालिरहेका हुन्छौं।

जीवन सुन्दर, सन्तुष्ट र सार्थक बनाउने उद्देश्य सबैमा हुन्छ। धर्म, संस्कृति, इतिहास, विज्ञान र महान व्यक्तित्वका वचनले हामीलाई जीवन सुधार्न प्रेरणा दिन सक्छ। विद्वान र महान व्यक्तित्वका प्रेरक भनाइहरूले यही सिद्धान्त पुष्टि गर्छन्—“हजारौं युद्ध जित्नुभन्दा महत्वपूर्ण कुरा आफैलाई चिन्नु हो। यही तिम्रो विजय हो।” आत्मज्ञान नै स्थायी विजय हो। स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, संतोष सबैभन्दा ठूलो धन र विश्वसनीयता सबैभन्दा उत्तम सम्बन्ध हो। जीवनलाई बुझ्ने दृष्टिकोणले बताउँछ—समय सीमित छ, ऊर्जा सीमित छ, तर केन्द्रित प्रयासले असाधारण उपलब्धि हासिल गर्न सकिन्छ। क्षणिक असफलताले निराशा ल्याउँछ, तर निरन्तर आत्ममूल्याङ्कन, ध्यान र अनुशासनले जीवनको दिशा बदल्छ।

सार्वजनिक स्रोतको दुरुपयोग नगर्नु भनेको राज्यलाई निजी सम्पत्ति नठान्नु हो। जातीय, धार्मिक वा क्षेत्रीय विद्वेष नफैलाउनु भनेको समाजको आत्मालाई नचिर्नु हो। मतदातालाई प्रलोभन नदिनु भनेको मतलाई सम्मान गर्नु हो, किनकि मत कुनै वस्तु होइन—विश्वासको अभिव्यक्ति हो। सञ्चार माध्यमको मर्यादा कायम राख्नु भनेको सत्यलाई विकृत हुन नदिनु हो।यी सबै प्रावधानको आध्यात्मिक आधार संयम नै हो। “पानीलाई जतिसुकै तातो बनाए पनि अन्ततः शीतल हुन्छ।” चुनावी ताप पनि क्षणिक हुन्छ, तर सम्बन्ध, सहअस्तित्व र सामाजिक विश्वास दीर्घकालीन हुन्छ। त्यसैले क्षणिक क्रोधलाई स्थायी द्वेषमा रूपान्तरण गर्नु लोकतन्त्रप्रति अन्याय हो।

“भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा कर्मको तुफान पैदा गर।” लोकतन्त्रमा भाग्यको कुनै ठाउँ छैन; जिम्मेवारी, मतदान र सक्रिय सहभागिता छ। निर्वाचनमा निष्क्रिय रहँदा मात्र आलोचना गर्नु गलत हो। लोकतन्त्र दर्शकका लागि होइन, सहभागीका लागि बनेको प्रणाली हो। अवसर र सूर्योदयमा समानता छ—ढिलो गर्ने पर्खँदैन। मतदान एक अवसर हो, त्यसलाई सचेत कर्ममा बदल्नु नागरिकको धर्म हो।

सही निर्णय, सही नीति र सही नेतृत्वले दीर्घकालीन प्रभाव पार्छ। असफलता अन्त्य होइन; सुधारको अवसर हो। लोकतन्त्रको सुन्दरता यही छ—गल्ती स्वीकार गरेर अघि बढ्ने ठाउँ दिनु। आध्यात्मिक मूल्यले स्पष्ट सन्देश दिन्छ—“यदि तिमी कसैलाई अपमान गर्दैछौ भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ।” निर्वाचनको समयमा शब्दहरू हतियार जस्तै प्रयोग हुन्छन्। चरित्र हत्या, व्यक्तिगत आक्रमण र मिथ्या प्रचारले क्षणिक ताली पाउन सक्छ, तर दीर्घकालमा राजनीतिक संस्कृतिलाई खोक्रो बनाउँछ।

क्रोधको बेला केही समय रोक्नुपर्छ, गल्तीको बेला केही झुक्नुपर्छ। यही अभ्यासले सभ्य प्रतिस्पर्धालाई सम्भव बनाउँछ। क्रोधले हिंसा जन्माउँछ; विनम्रताले संवादको ढोका खोल्छ। निर्वाचन असहमतिको पर्व हो, शत्रुताको होइन। मत फरक हुन सक्छ, तर मानवीय गरिमा साझा रहन्छ।नेपालको राजनीतिक यात्रामा अस्थिरता, आरोप–प्रत्यारोप र अविश्वासले गहिरो छाप छोडेका छन्। २०८२ को निर्वाचनले यो संस्कार बदल्ने अवसर दिन सक्छ। यदि हामीले आध्यात्मिक अनुशासनलाई राजनीतिक व्यवहारमा उतार्यौं—संयम, सम्मान र सत्यलाई अंगाल्यौं—तब चुनाव केवल प्रतिनिधि चयनको प्रक्रिया नभई राजनीतिक संस्कृतिको पुनर्जागरण बन्न सक्छ।

नेता देवता होइनन्; उनीहरू जनप्रतिनिधि हुन्। नेतृत्वको मूल्यांकन कार्य, नीतिगत स्पष्टता र नैतिक आचरणको आधारमा गर्नुपर्छ। मतदाता भावनामा बगेर मात्र निर्णय गरे, लोकतान्त्रिक उत्तरदायित्व कमजोर हुन्छ। यहाँ विवेकशील नागरिकको भूमिका निर्णायक हुन्छ। जब नागरिक स्वतन्त्र, सजग र उत्तरदायी हुन्छन्, तब राजनीति पनि उत्तरदायी हुन्छ।“सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौल्छौं।” पारदर्शिता माग्नेले स्वयं पनि पारदर्शी हुनुपर्छ। दोहोरो मापदण्डले विश्वास तोड्छ र लोकतन्त्र कमजोर बनाउँछ।

“महानता त्यो होइन जो कहिल्यै लड्दैन; महानता त्यो हो जो बारम्बार लडेर पनि उठ्छ।” संघर्ष, असफलता र पुनरुत्थान नै लोकतन्त्रको जीवनशक्ति हुन्। विवेकशील, सक्रिय र उत्तरदायी नागरिकले नै राष्ट्रलाई स्थायित्व र सुदृढ लोकतन्त्र प्रदान गर्छन्।जनआन्दोलनका उथलपुथल, संविधान निर्माणका जटिल बहस र संघीय अभ्यासका प्रारम्भिक चुनौतीहरू—यी सबै संघर्षका अध्याय हुन्। तर प्रत्येक अवरोधपछि राष्ट्र फेरि उठेको छ, पुनः संवादमा बसेको छ र पुनः आशा जगाएको छ। यही उठ्ने क्षमताले लोकतन्त्रलाई जीवित राखेको छ।

असफलता लोकतन्त्रको अन्त्य होइन; त्यो आत्मसमीक्षाको अवसर हो। कुनै नीति काम नगर्न सक्छ, कुनै नेतृत्व अपेक्षाअनुसार सफल नहुन सक्छ, तर सुधारको ढोका सधैँ खुला रहन्छ।“खुसीले थोरै समयका लागि सन्तुष्टि दिन्छ; सन्तुष्टिले सधैँका लागि खुसी दिन्छ।”चुनावी जीत क्षणिक उत्सव हो, तर शासनमा पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाह सुनिश्चित भए मात्र वास्तविक सन्तुष्टि मिल्छ। सन्तुष्टि दीर्घकालीन विश्वासबाट आउँछ—जब नागरिकले आफ्ना प्रतिनिधिलाई जवाफदेही देख्छन्, सार्वजनिक स्रोतको सदुपयोग हुन्छ र न्याय समान रूपमा लागू हुन्छ।

व्यक्तिगत अनुशासन नै सार्वजनिक अनुशासनको पहिलो आधारशिला हो। नागरिकले संयमित र विवेकशील व्यवहार गर्दा मात्र नेतृत्व जवाफदेही हुन्छ। क्रोध नियन्त्रण गर्न सक्ने नागरिक हिंसामा उत्रँदैन; लाज र लोभ त्याग्ने नेता विश्वासको आधारमा समर्थन खोज्छ।जब व्यक्ति बदलिन्छ, प्रवृत्ति बदलिन्छ; जब प्रवृत्ति बदलिन्छ, भविष्य बदलिन्छ। सामाजिक संस्कार निरन्तर आत्मसुधारबाट मात्र रूपान्तरित हुन्छ।

निर्वाचन आचारसंहिता सार्वजनिक आध्यात्मिक अनुशासन हो। जीवनका सूक्तिहरू—आनन्दमा संयम, क्रोधमा मौनता, दुःखमा धैर्य—अनुशासनमा परिणत भएपछि निर्वाचन शान्त, निष्पक्ष र गरिमामय हुन्छ।कर्ममा विश्वास, लोभ त्याग, अपमानबाट दूरी, विवेकशील सहभागिता—यी मूल्य राजनीतिक संस्कृतिमा रूपान्तरण गर्दा लोकतन्त्र सुदृढ हुन्छ। नागरिक सक्रिय, सजग र उत्तरदायी भएपछि नेतृत्व जवाफदेही बन्न सजिलो हुन्छ।

२०८२ सालको प्रतिनिधि सभा निर्वाचन आत्मशासनको परीक्षा हो। नेतृत्व जब आध्यात्मिक मूल्यमा आधारित हुन्छ, तब शासन विश्वसनीय हुन्छ; नागरिक जब संयमित र विवेकशील हुन्छन्, तब लोकतन्त्र सुरक्षित रहन्छ।लोकतन्त्रको सुदृढता बाहिरी संरचनामा होइन, आन्तरिक चरित्रमा निर्भर गर्छ। आफ्नो मन शीतल राख्दा, कर्ममा विश्वास गर्दा र संयमलाई संस्कार बनाउँदा—नेपालको निर्वाचन आध्यात्मिक पुनर्जागरणको उत्सव बन्न सक्छ।

(उप्रेती नेपाल सरकारका उपसचिव हुन्।)