प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले छठ पर्व लक्षित सुरक्षा योजनाका सम्बन्धमा जानकारी लिँदै देशभर उच्च सतर्कता र व्यावसायिकताका साथ प्रहरी परिचालन गर्न निर्देशन दिएका छन्। भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा उनले काठमाडौँ उपत्यका प्रहरी कार्यालय र सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबाट प्रस्तुत सुरक्षा योजनाको समीक्षा गर्दै आवश्यक निर्देशन दिएका हुन्।
नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रममा आइजिपी केसीले छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सबै सुरक्षा निकाय तथा सरोकारवाला पक्षसँग प्रभावकारी समन्वय र सहकार्य गर्न आग्रह गरे। सम्भावित सुरक्षा चुनौतीको पूर्वआकलन गरी भरपर्दो सुरक्षा योजना कार्यान्वयन गर्न तथा कुनै पनि किसिमको कमजोरी हुन नदिन उनले सचेत गराए।
यसैगरी, पर्वसँग सम्बन्धित अवाञ्छित गतिविधि तथा संवेदनशील अवस्थाबारे समयमै सूचना सङ्कलन, विश्लेषण र आदानप्रदान गरी पूर्वतयारी गर्न उनले निर्देशन दिएका छन्। पर्वका क्रममा हुने भीडभाड र जमघटको प्रभावकारी व्यवस्थापन गर्न, श्रद्धालु भक्तजनको आवागमनलाई सहज बनाउन तथा नदी, पोखरी र जलाशय आसपास विशेष सुरक्षा सतर्कता अपनाउन उनले जोड दिए।
भीड नियन्त्रणका क्रममा संवाद, सम्झाइबुझाइ र समन्वयलाई पहिलो प्राथमिकतामा राख्न निर्देश गर्दै आइजिपी केसीले बल प्रयोग गर्नैपर्ने परिस्थिति सिर्जना भएमा प्रचलित कानुन, आवश्यकताको सिद्धान्त र समानुपातिकताको मापदण्डअनुरूप न्यूनतम बल प्रयोग गर्न स्पष्ट पारे। साथै, फिल्ड कमान्डरहरूले समग्र सुरक्षा अवस्थाको प्रत्यक्ष निगरानी र नियन्त्रण कायम राख्नुपर्नेमा उनले विशेष जोड दिएका छन्।