जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत पाउने अवस्था नरहेपछि शनिबार पदबाट राजीनामा दिएका छन्। विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले बहुमत जुट्ने सम्भावना नदेखिएपछि मतदानको प्रक्रियामा नगई राजीनामाको घोषणा गरेका हुन्।
सरकारमा सहभागी प्रमुख सत्ता साझेदार दल नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका मुख्यमन्त्री यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो। १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मतका लागि आवश्यक बहुमत (५४ मत) जुट्ने आधार कमजोर बनेपछि उनले पद त्याग गर्ने निर्णय लिएका हुन्।
सदनमा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले प्रदेशसभाको अङ्कगणित मिलाउन लागिरहनुभन्दा प्रदेशमा राजनीतिक स्थिरता कायम गर्न र नयाँ सरकार गठनको निकास दिन आफूले मार्गप्रशस्त गरेको बताएका छन्। उनको राजीनामासँगै अब मधेश प्रदेशमा नयाँ गठबन्धनको सरकार निर्माण गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।