​काठमाडौँ। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपालको ऊर्जा क्षेत्रमा लोडसेडिङ अन्त्य भएको १० वर्ष पूरा भएको अवसरमा एक विचार सार्वजनिक गर्दै विद्युत् उत्पादनमा ऐतिहासिक छलाङ मारे पनि यसको उचित व्यवस्थापन र बजार विस्तारमा गम्भीर बन्नुपर्ने बताएका छन्।

​२०७३ सालअघि १८ घण्टासम्मको लोडसेडिङ बेहोरेको नेपालमा त्यसयता विद्युत् उत्पादन ८०० मेगावाटबाट बढेर करिब ४,२०० मेगावाट पुगेको छ भने थप ७ देखि ८ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन छन्। तर, हालैको लक्ष्मीपूजाको समयमा माग उच्च हुँदा पनि भारततर्फको निर्यातबाहेक करिब ५०० मेगावाट र रातिको समयमा १,००० मेगावाटभन्दा बढी विद्युत् खेर गएको स्थितिप्रति उनले चिन्ता व्यक्त गरेका छन्। त्यस्तै, भोटेकोशी बाढीका कारण ५०० मेगावाट क्षमताका आयोजनाहरू बन्द हुनु र भारतबाट निर्यात अनुमति पाउन ढिलाइ हुँदा करोडौँको सम्भावित आम्दानी गुम्नु चिन्ताको विषय भएको उनको भनाइ छ।

​विद्युत् अभावको युगबाट उब्रिएर नेपाल अहिले निर्यातकर्ता बनेको सन्दर्भमा अब ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले समयमै आवश्यक सहमति लिन, आन्तरिक खपत बढाउन र प्रसारण पूर्वाधारको विकासमा योजनाबद्ध ढङ्गले लाग्नुपर्नेमा उनले जोड दिएका छन्।