काठमाडौँ। टर्कीको अन्टाल्यामा सञ्चालित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप-३१’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता तथा परराष्ट्रमन्त्री सिसिर खनालले अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना प्रतिबद्धताहरू कार्यमा ढाल्न आह्वान गरेका छन्।
सम्बोधनका क्रममा मन्त्री खनालले हालै नेपालले भोग्नुपरेको अभूतपूर्व जलवायुजन्य विपद्पछि प्राप्त अन्तर्राष्ट्रिय सहानुभूतिलाई अब कार्यगत प्रणाली र व्यावहारिक कार्यान्वयनमा बदल्ने समय आएको बताए। उनले कोप-३१ प्रक्रियाअन्तर्गत ‘हिमाल र जलवायु परिवर्तन’ विषयमा छुट्टै र समर्पित कार्ययोजना स्थापना गर्नुपर्नेमा विशेष जोड दिएका छन्।
मन्त्री खनालले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यलाई जीवितै राख्नुपर्ने, अनुकूलनसम्बन्धी विश्वव्यापी लक्ष्य ढाँचामा हिमाल-विशेष सूचकहरूलाई समावेश गरिनुपर्ने र नयाँ सामूहिक परिमाणात्मक लक्ष्य अन्तर्गत पर्याप्त जलवायु वित्तको व्यवस्था हुनुपर्ने माग राखे।
विश्वका १५ प्रतिशत जनसङ्ख्याको जीवन आधार रहेको संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको संरक्षण गर्नुपर्ने र ‘सगरमाथादेखि समुद्रसम्म’ परेको असरलाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो। उनले नेपाललाई विपद्पछि थप सुदृढ, तीव्र र समतामूलक रूपमा पुनर्निर्माण गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा व्यक्त गरेका छन्।