​काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले दीपावली तथा तिहारको पावन अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

​सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै सभापति थापाले उज्यालो, आत्मीयता र सद्भावको यो पर्वले सबैको जीवनमा नयाँ आशा, उत्साह र सकारात्मक ऊर्जा ल्याउने विश्वास व्यक्त गरेका छन्। दियोको उज्यालोले अन्धकार हटाएझैँ नेपाली समाजमा व्याप्त निराशा, अविश्वास र विभाजनलाई चिर्दै आपसी सद्भाव, एकता र विश्वासलाई अझ मजबुत बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

​यस पर्वले सबैलाई सत्य, न्याय र सद्भावको बाटोमा दृढतापूर्वक अघि बढ्ने प्रेरणा दिने आशा व्यक्त गर्दै सभापति थापाले हरेक घरमा खुसी, हरेक मनमा आशा र देशको साझा भविष्यमा समुन्नतिको उज्यालो फैलियोस् भन्दै तिहारको शुभकामना दिएका छन्।