काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले यमपञ्चक, तिहार तथा दीपावलीको अवसरमा सम्पूर्ण नेपाली नागरिक, नेपाल प्रहरीका प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनमा शुभकामना व्यक्त गरेका छन्।
कार्कीले आफ्नो फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै तिहारका सप्तरङ्गी दीपले सबैको जीवनमा प्रेम, शान्ति, समृद्धि, सकारात्मक ऊर्जा र सिर्जनशीलताको उज्यालो फैलाओस् भन्ने कामना गरेका छन्।
उनले शुभकामना सन्देशमा अज्ञानमाथि ज्ञान, भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजयका लागि चेतना जागृत हुनुपर्नेमा जोड दिएका छन्। साथै, मनमा रहेका सङ्कीर्णता, द्वेष, अहंकार तथा विकारहरू हटाउँदै सामूहिक हित, संस्थागत एकता र पारस्परिक सद्भावलाई बलियो बनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
कार्कीले भावनात्मक सुदृढता नै संस्थागत सबलताको आधार भएको उल्लेख गर्दै व्यक्तिगत तथा पारिवारिक जीवनमा सुख, आत्मीयता र सद्भाव अभिवृद्धि होस् भन्ने कामना गरेका छन्।
त्यसैगरी सामाजिक तथा संस्थागत क्षेत्रमा सामूहिक हित, एकता, व्यावसायिक निष्ठा, उत्तरदायित्व र संगठनात्मक सुदृढीकरणको भावना थप प्रगाढ बन्नुपर्ने उनको सन्देश छ।सार्वजनिक संस्थाहरूको गरिमा, प्रतिष्ठा र जनविश्वास अभिवृद्धि गर्दै राष्ट्रसेवाप्रतिको समर्पण अझ सशक्त बन्न सकोस् भन्ने कामना गर्दै उनले मानवता, विवेक र सद्कर्मको ज्योति हरेक हृदयमा प्रज्वलित भइरहोस् भनेका छन्।