​काठमाडौँ। ‘येशूलाई भेट्न’ पाइन्छ भन्दै आफ्ना अनुयायीहरूलाई भोकै बस्न लगाएर सामूहिक आत्महत्या (भोकमरी) गराउने केन्याका विवादित पास्टर पावल न्थेङ्गे म्याकेन्जीलाई त्यहाँको अदालतले २०० वर्षको कैद सजाय सुनाएको छ। केन्याको ‘गुड न्युज इन्टरनेसनल मिनिस्ट्रिज’ का नेता म्याकेन्जी र उनका अन्य २९ जना सहयोगीहरूलाई बालबालिकाको क्रूर हत्या तथा शोषण र अनुयायीहरूलाई भोकमरीमा धकेलेको अभियोगमा दोषी ठहर गर्दै उक्त सजाय सुनाइएको हो।

​घटनाको पृष्ठभूमि अनुसार, पास्टर म्याकेन्जीले संसारको अन्त्य हुन लागेको र स्वर्ग गएर येशूलाई भेट्नका लागि भोकै बसेर ज्यान त्याग्नुपर्ने धार्मिक अन्धविश्वास फैलाएका थिए। उनको यस भ्रामक प्रचारका कारण केन्याको शकाहोला जङ्गलमा ४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए। अदालतले पहिलो चरणमा १९० भन्दा बढी बालबालिकाको मृत्युको मुख्य जिम्मेवार म्याकेन्जीलाई नै ठहर गरेको छ।

​चिकित्सकीय परीक्षण (पोस्टमार्टम) रिपोर्ट अनुसार धेरैजसो अनुयायीको मृत्यु लामो समयसम्म खाना नखाएर भोकमरीका कारण भएको पाइएको थियो भने केही बालबालिकालाई कुटपिट गरी वा घाँटी थिचेर मारिएको पुष्टि भएको छ। आधुनिक इतिहासकै यो घटनालाई धार्मिक अन्धविश्वासका कारण घटेको सबैभन्दा ठूलो र भयानक सामूहिक त्रासदीका रूपमा लिइएको छ।