जर्मनीको साइबर सुरक्षा निकाय र डिजिटल मामिलामन्त्रीले संघीय संसद् (बुन्डेस्टाग) का सदस्य तथा सरकारी अधिकारीहरूलाई उनीहरूका आईफोन व्यावसायिक जासुसी सफ्टवेयर (मर्सेनरी स्पाइवेयर) को निशानामा परेको हुन सक्ने भन्दै सतर्क गराएका छन्।
एप्पलले अक्टोबर २९ देखि जर्मनीका केही राजनीतिज्ञ तथा सार्वजनिक व्यक्तित्वलाई सम्भावित साइबर आक्रमणबारे सुरक्षा सूचना पठाउन थालेपछि यो घटना सार्वजनिक भएको हो। जर्मनीका डिजिटल मामिलामन्त्री कार्स्टेन वाइल्डबर्गरले संघीय सूचना सुरक्षा कार्यालय (बीएसआई) ले प्रभावित अधिकारीहरूलाई तत्काल आवश्यक सुरक्षा प्रक्रियाबारे मार्गदर्शन गरेको पुष्टि गरेका छन्।
एप्पलले पठाएका सूचनालाई उच्च विश्वसनीयतायुक्त साइबर खतरा चेतावनीका रूपमा लिइएको छ। यद्यपि, त्यस्ता सूचना प्राप्त हुँदैमा सम्बन्धित उपकरणमा जासुसी सफ्टवेयर सफलतापूर्वक प्रवेश गरिसकेको पुष्टि भने हुँदैन। जर्मनीका अधिकारीहरू कति जना निशानामा परे, आक्रमण सफल भयो वा भएन र त्यसको पछाडि कुन व्यक्ति, समूह वा राज्यको संलग्नता छ भन्ने विषय अझै स्पष्ट भएको छैन।
मर्सेनरी स्पाइवेयर निजी कम्पनीहरूले विकास गरी विभिन्न सरकार वा सरकारी निकायलाई बिक्री गर्ने अत्याधुनिक निगरानी प्रविधि हो। यसमा प्रयोग हुने कतिपय ‘जिरो-क्लिक’ प्रविधिबाट प्रयोगकर्ताले कुनै लिंक खोल्न वा सन्देशमा क्लिक गर्न नपरी पनि मोबाइल उपकरणमा पहुँच स्थापित गर्न सकिन्छ।
यस्तो सफ्टवेयरले उपकरणमा सफलतापूर्वक प्रवेश पाएमा ह्वाट्सएप र सिग्नलजस्ता एपका सन्देश, इमेल तथा स्थानसम्बन्धी विवरणमा पहुँच राख्न सक्छ। त्यस्तै, मोबाइलको माइक्रोफोन र क्यामेरासमेत टाढैबाट सक्रिय गराउन सक्ने क्षमता यसमा हुन्छ।
एप्पलले विश्वका ९९ देशका सम्भावित निशानामा परेका प्रयोगकर्तालाई यस्ता सुरक्षा सूचना पठाएको बताइएको छ। यस अभियानको प्रभाव जर्मनीमा मात्र सीमित नभई टर्की र लेबनानका पत्रकारहरू पनि प्रभावित भएको विवरणमा उल्लेख छ। यद्यपि, एप्पलले सूचनासँग सम्बन्धित आक्रमणका लागि कुनै खास देश वा समूहलाई जिम्मेवार ठहर गरेको छैन।
बीएसआईका सुरक्षा सुझाव
सम्भावित जोखिममा परेका अधिकारीहरूलाई बीएसआईले उपकरण सुरक्षित रहेको पुष्टि नभएसम्म सम्भावित रूपमा प्रभावित भएको मानेर सावधानी अपनाउन सुझाव दिएको छ।
एप्पलको आधिकारिक सुरक्षा सूचना हो वा होइन भन्ने यकिन गर्न प्रयोगकर्ताले कुनै सन्देशमा आएको लिंक खोल्नुको सट्टा सिधै आफ्नो एप्पल अकाउन्टमा लगइन गरेर चेतावनी देखिएको छ कि छैन जाँच गर्नुपर्ने सुझाव दिइएको छ। आधिकारिक सूचनाले प्रयोगकर्तासँग पासवर्ड वा अन्य गोप्य विवरण माग्दैन।
त्यस्तै, आईफोनको ‘सेटिङ्स’ भित्र रहेको ‘प्राइभेसी एन्ड सेक्युरिटी’ विकल्पबाट ‘लकडाउन मोड’ सक्रिय गर्न पनि सुझाव दिइएको छ। यसले वेब प्रविधि र सन्देशमार्फत आउन सक्ने जोखिमपूर्ण सामग्रीलाई सीमित गरी उपकरणको सुरक्षा बढाउँछ।
साइबर सुरक्षा विशेषज्ञबाट फरेन्सिक परीक्षण गराउनुपर्ने अवस्थामा मोबाइललाई तत्काल फ्याक्ट्री रिसेट नगर्न पनि अधिकारीहरूलाई भनिएको छ। रिसेट गर्दा सम्भावित आक्रमणको अनुसन्धानका लागि आवश्यक डिजिटल प्रमाण नष्ट हुन सक्ने भएकाले उपकरणको अवस्था यथावत् राख्नुपर्ने सुझाव दिइएको हो।
उच्च जोखिममा रहेका व्यक्तिका हकमा नयाँ मोबाइल प्रयोग गर्ने, फोन नम्बर परिवर्तन गर्ने, क्लाउड अकाउन्ट पुनः सुरक्षित बनाउने तथा पासवर्ड र एपका पिन कोड परिवर्तन गर्ने उपायसमेत सिफारिस गरिएको छ।