अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक परिणामअनुसार चुनावी मैदानमा रहेका नेपाली मूलका चार जना उम्मेदवारमध्ये तीन जनाले शानदार जित हासिल गरेका छन् भने एक जना पराजित भएका छन्। यस जितसँगै अमेरिकी राज्यस्तरको राजनीतिमा स्थापित हुने नेपाली मूलका विधायक (सांसद) हरूको संख्या अब तीन पुगेको छ।
डेमोक्रेटिक पार्टीका उम्मेदवार डा. ह्यारी भण्डारी मेरिल्याण्ड राज्यको ‘हाउस अफ डेलिगेट्स’ मा लगातार तेस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। यस्तै, न्युयोर्क राज्य एसेम्बलीमा बहालवाला सांसद सराहना श्रेष्ठले रिपब्लिकन प्रतिस्पर्धी सान्तोस लोपेजलाई भारी मतान्तरले पराजित गर्दै जितको ह्याट्रिक पूरा गरेकी छन्।
पहिलो पटक चुनावी मैदानमा उत्रिएका विश्वबहादुर शाहले न्यू ह्याम्पसायरको ‘स्टेट रिप्रिजेन्टेटिभ’ पदमा सफलता हात पारेका छन्। अर्कातर्फ, मेरिल्याण्डको डिस्ट्रिक्ट ७ ‘ए’ बाट पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएका सतीश चापागाइँ भने रिपब्लिकन उम्मेदवारहरूसँगको प्रतिस्पर्धामा पराजित भएका छन्।