सल्यान, १८ कात्तिक २०८३। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यान जिल्लाको अनुगमनको क्रममा शारदा नगरपालिका–५, तल्लीमाकैस्थित श्री जनकल्याण आधारभूत विद्यालयमा सञ्चालित बाल संरक्षण छात्रावासको स्थलगत अवलोकन गर्नुभएको छ।

संरक्षणविहीन तथा अतिविपन्न परिवारका बालबालिकालाई आवासीय सुविधासहित संरक्षण प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेको छात्रावासको अवस्था बुझ्न मन्त्री बादी त्यहाँ पुग्नुभएको हो।

अवलोकनका क्रममा उहाँले छात्रावासमा आश्रित बालबालिकाको अवस्था, आवासीय सुविधा, खानपान, शिक्षा, स्वास्थ्य तथा उनीहरूका आवश्यकताबारे जानकारी लिनुभयो।

मन्त्री बादीले बालबालिकाको संरक्षण, शिक्षा र समग्र विकास राज्यको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै छात्रावासलाई आवश्यक पर्ने सहयोग तथा व्यवस्थापनका लागि आवश्यक काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

अवलोकनका क्रममा सल्यानका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लगायत सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो। मन्त्री बादीले स्थानीय प्रशासन तथा सरोकारवाला निकायसँग समन्वय गरी छात्रावासका आवश्यकता सम्बोधन गर्न निर्देशनसमेत दिनुभयो।