काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रबर्द्धन गर्न डिजिटल प्रचार-प्रसालाई जोड दिइरहेका छन् । सोही अनुसार नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल प्रबर्द्धनका लागि विभिन्‍न गतिविधिहरु भइरहेका छन् । जस अन्तर्गत पहिलोपटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।

मन्त्री पौडेलको निर्देशन अनुसार यसअघि दशैंको अवसरमा स्थानीय तह, पर्यटन सम्बद्ध संघसंस्थालगायतको सहकार्यमा देशभरका १०० स्थानमा ‘लिङ्‌गे पिङ’ हालिएको थियो । मन्त्री पौडेलको पर्यटनलाई डिजिटल माध्यमबाट प्रबर्द्धन गर्ने योजना अनुसार नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता’ को आयोजना गरिएको हो । यसमार्फत् कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई डिजिटल सामग्रीका माध्यमबाट विश्वभर चिनाउने लक्ष्य राखिएको छ ।

पर्यटनमन्त्री पौडेलले पछिल्लो समय नेपालको पर्यटनलाई मौलिक सांस्कृतिक परम्परासँग जोडेर प्रबर्द्धन गर्नुपर्नेमा जोड दिँदै आएका छन् । जस अनुसार पहिलो पटक कुकुर तिहारका लागि रिल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रील तयार गरी आफ्नो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउने व्यक्तिलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्दै तिहारको अवसरमा पूजा गर्ने परम्परा रहेको छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला तथा मीठा परिकार खुवाउने र पूजा गरिन्छ । यही सांस्कृतिक विशेषतालाई आधुनिक डिजिटल माध्यमसँग जोड्दै नेपालको मौलिक पर्वलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्य प्रतियोगिताले राखेको छ ।

प्रतियोगितामा सहभागी हुनेले तयार पारेको रील अंग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सहभागीले आफ्नो भिडियो इन्स्टाग्राम वा फेसबुकमा सार्वजनिक गरी #NepalFestival र #KukurTihar ह्यासट्याग प्रयोग गर्नुपर्नेछ । साथै, इन्स्टाग्राममा @nepaltourism लाई ट्याग गर्नुपर्नेछ भने फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।

सामाजिक सञ्जालमा प्रकाशित भिडियोसहित डाउनलोड तथा हेर्न मिल्ने अनुमति प्रदान गरिएको गुगल ड्राइभ लिंक [email protected] मा इमेलमार्फत पठाउनुपर्नेछ । प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई पर्यटन बोर्डले आफ्नो पर्यटन प्रवर्द्धन, प्रचारप्रसार तथा डिजिटल सञ्चारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ । प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति सन् २०२६ नोभेम्बर २१ तोकिएको छ ।

कुकुर तिहारलाई केवल धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा मात्र नभई नेपाली समाजमा रहेको जीवजन्तुप्रतिको प्रेम, सम्मान र सहअस्तित्वको सन्देशका रूपमा विश्वसामु प्रस्तुत गरिने छ । डिजिटल माध्यममा सिर्जनात्मक सामग्री उत्पादन गर्ने युवाहरू तथा अन्तर्राष्ट्रिय दर्शकलाई लक्षित प्रतियोगिताले नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ ।