कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले काठमाडौँको भृकुटीमण्डपमा आज आयोजित ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को अवलोकन तथा सम्बोधन गर्नुभएको छ । भृकुटीमण्डपमा आज आयोजित ‘तिहार फ्लोरा एक्स्पो २०८३’ को अवलोकन तथा सम्बोधनका क्रममा मन्त्री चौधरीले स्वदेशी फूलको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

स्थानीय उत्पादनलाई उपभोक्तासम्म सहज रूपमा पुर्‍याउन, नेपाली फूलको बजार विस्तार गर्न तथा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न यस्ता प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।

नर्सरी व्यवसायी संघ, नेपालद्वारा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री चौधरीले तिहार नेपाली समाजको उज्यालो, रङ र फूलको पर्व भएको उल्लेख गर्दै पुष्प तथा नर्सरी व्यवसायले नेपाली संस्कृति, परम्परा, आयआर्जन र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। उहाँले स्वदेशी पुष्प उत्पादनको प्रवर्द्धन तथा नर्सरी व्यवसायको विकास र विस्तारमा संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।

समुद्घाटनपछि मन्त्री चौधरीले एक्स्पोमा राखिएका पुष्प तथा नर्सरीजन्य उत्पादनका स्टलहरूको अवलोकन गर्दै व्यवसायीहरूसँग अन्तरक्रिया गर्नुभयो। सो अवसरमा उत्कृष्ट प्रदर्शन गर्ने सहभागी तथा व्यवसायीहरूलाई सम्मानसमेत गर्नुभयो।

मन्त्री चौधरीले एक्स्पोको सफलताको शुभकामना व्यक्त गर्दै स्टल राखेर तथा अवलोकनमार्फत हौसला प्रदान गर्ने सम्पूर्ण व्यवसायी, नर्सरीप्रेमी र आगन्तुकप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले यस एक्स्पोले नेपालको नर्सरी क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आगामी तिहार तथा छठ पर्वको अग्रिम शुभकामना पनि दिनुभयो।