​काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका गैरकानुनी कामहरूले सीमा नाघेको आरोप लगाउनुभएको छ। पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउनुभएको छ। प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य-मान्यतामाथि हस्तक्षेप गर्ने यस्ता प्रवृत्तिहरू सामान्य नरहेको उहाँको भनाइ छ।

​समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमको कार्यालयमै पुगेर धरपकड गर्नुले विगतको शाही शासनकालको याद दिलाएको उहाँले बताउनुभयो। नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरू रिहा भए पनि यसलाई यत्तिकैमा सीमित राख्न नहुने उल्लेख गर्दै उहाँले सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेसको अधिकारलाई कसरी हेरिरहेको छ भन्ने गम्भीर प्रश्न उब्जिएको धारणा राख्नुभयो। माथिल्लो राजनीतिक तथा प्रशासनिक नेतृत्वको स्पष्ट निर्देशनविना प्रहरी आफैँ मिडिया हाउसमा छिरेको कुरा पत्याउन कठिन रहेको भन्दै उहाँले प्रधानमन्त्रीकै कुराकानी र सहमतिमा यो सब भएको दाबी गर्नुभयो।

​गगन थापाले सरकारमा बस्नेहरूमा ‘आफ्नो इच्छा नै कानुन हो’ भन्ने स्वेच्छाचारी सोच हाबी भएको टिप्पणी गर्नुभयो। लोकतन्त्रमा सरकारको अधिकार कानुनबाट सिर्जित हुने तर अहिले शक्तिको दुरुपयोग गर्दै राज्यका निकायहरूलाई निजी आदेश पालना गराउने प्रयास भइरहेको उहाँको आरोप छ। प्रमुख प्रतिपक्षको नाताले राष्ट्रिय मुद्दामा सरकारलाई साथ दिए पनि नागरिकको मौलिक हक र लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप नबस्ने चेतावनी दिँदै उहाँले आवश्यकता परे सशक्त प्रतिवाद र प्रतिरोधमा उत्रने स्पष्ट पार्नुभयो।