काठमाडौँ। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा डडेल्धुरा जिल्ला क्रिकेट संघको नाममा रहेको पास एक मोडेलले प्रयोग गरिरहेको फेला परेको छ। टिकटकमा लाखौँ फलोअर भएकी ती मोडेल डडेल्धुराको प्रतिनिधित्व गर्दै एनपीएल खेल हेर्न रंगशाला पुगेपछि पास वितरणको पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।
तर, डडेल्धुरा जिल्ला क्रिकेट संघका पदाधिकारीहरूले भने ती मोडेललाई आफूहरूले नचिनेको र संघको तर्फबाट कुनै पनि पास उपलब्ध नगराइएको प्रस्ट पारेका छन्। उनीसँग डडेल्धुराको कुनै प्रत्यक्ष सम्बन्धसमेत नरहेको संघको भनाइ छ। प्रत्यक्षदर्शीका अनुसार ती मोडेलबाहेक अन्य केही व्यक्तिहरूसँग समेत डडेल्धुराको कोटाको पास रहेको पाइएको छ। सम्बन्धित संघका प्रतिनिधिको हातमा पुग्नुपर्ने पास अन्य व्यक्तिसम्म कसरी पुग्यो भन्नेबारे स्पष्ट जानकारी बाहिर आएको छैन।
सुदूरपश्चिम प्रदेश क्रिकेट संघका एक पदाधिकारीले पनि जिल्ला तथा प्रदेश संघसँग समन्वय नगरी सम्बन्धित कोटाको पास अन्य व्यक्तिलाई दिनु गम्भीर विषय भएको बताएका छन्। एनपीएलमा जिल्ला तथा प्रदेशका नाममा छुट्याइएका पासहरू पहुँचका आधारमा जथाभाबी वितरण हुने गरेको आशङ्का गरिए पनि नेपाल क्रिकेट संघ (क्यान) बाट यस विषयमा आधिकारिक प्रतिक्रिया आइसकेको छैन।