​काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार सम्पन्न खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध ४ विकेटको सनसनीपूर्ण जित दर्ता गरेको छ। विराटनगरले जितका लागि दिएको १८७ रनको विशाल लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर १ बल बाँकी छँदा पूरा गरेको हो। यो जितसँगै कर्णालीले प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ भने विराटनगरले लगातार दोस्रो हार बेहोरेको छ।

​१८७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली ५७ रनमै ५ विकेट गुमाएर गम्भीर संकटमा परेको थियो। तर कप्तान सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई पुनरागमन दिलाउनुभएको छ। उहाँले पवन सर्राफ (३६ रन) सँग छैटौँ विकेटका लागि ६६ रन र गुल्सन झा (अविजित २८ रन) सँग सातौँ विकेटका लागि अविजित ६४ रनको साझेदारी गर्दै जित सुनिश्चित गर्नुभयो। ३२ बलमा ४ चौका र ३ छक्काको मद्दतमा अविजित ६२ रन बनाउनुभएका सोमपालले बलिङतर्फ पनि ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिनुभएको थियो। उहाँ यस खेलको ‘प्लेयर अफ दि म्याच’ चुनिनुभएको छ।

​यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रनको योगफल खडा गरेको थियो। विराटनगरका लागि लोकेश बमले ५२ बलमा ९ छक्का र ३ चौकाको मद्दतमा ८७ रनको विस्फोटक इनिङ्स खेले पनि टोलीलाई जिताउन सक्नुभएन। बलिङतर्फ कर्णालीका लागि एन्जेलो म्याथ्युजले ३ विकेट लिनुभएको थियो।