काठमाडौँ। सर्वोच्च अदालतका न्यायाधीशहरू तथा प्रधानन्यायाधीशसमेतलाई जोडेर विवादित मुद्दासँग सम्बन्धित व्यक्तिहरूसँग भेटघाट र संवाद भएको भनी सार्वजनिक भएका विवरणहरूप्रति नेपाल बार एशोसिएशनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र जनआस्था जोगाउन यस्ता विषयमा पारदर्शी र विश्वसनीय छानबिन हुनुपर्नेमा जोड दिइएको छ।
सञ्चारमाध्यममा आएका आरोपहरूलाई नै अन्तिम सत्य वा दोष प्रमाणित भइसकेको निष्कर्षका रूपमा लिन नमिल्ने स्पष्ट पार्दै बारले प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन र आफ्नो सफाइ पेस गर्ने अवसर हुनुपर्ने जनाएको छ। तथापि, न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशहरूको आचरणमाथि नै प्रश्न उठेकाले सम्बन्धित पदाधिकारीहरूले उच्च नैतिकता र आचारसंहिताको पालना गर्नुपर्ने अपिल गरिएको छ।
बारले सम्बन्धित सक्षम निकायहरूलाई सार्वजनिक भएका विषयको निष्पक्ष, स्वतन्त्र र समयबद्ध छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन आग्रह गरेको छ। कानुनविपरीत कार्य प्रमाणित भएमा कसैको पद वा हैसियत नहेरी कारबाही गर्न र आरोप प्रमाणित नभए सम्बन्धित व्यक्तिको प्रतिष्ठा एवं संस्थागत मर्यादा रक्षा गर्न भनिएको छ। साथै, प्रमाण र विधिको शासनलाई सम्मान गर्दै अपुष्ट सूचनाका आधारमा निष्कर्षमा नपुग्न आम नागरिक, सञ्चारमाध्यम र राजनीतिक दलहरूसँग अनुरोध गरिएको छ।