काठमाडौँ। नेपाल प्रहरीले बडा दसैँका अवसरमा काठमाडौँ उपत्यकामा सर्वसाधारणको सुविधालाई मध्यनजर गर्दै निःशुल्क बस सेवा सञ्चालन गरेको छ। दसैँको टीकाका दिन सार्वजनिक यातायातको अभावमा यात्रुहरूले भोग्नुपर्ने सास्तीलाई कम गरी आवागमन सहज बनाउन प्रहरीले कात्तिक ३ र ४ गते उपत्यकाका विभिन्न तीन वटा रुटमा उक्त सेवा उपलब्ध गराएको हो।
प्रहरीले नक्सालस्थित मुख्यालयलाई केन्द्र बनाएर तीन फरक-फरक चक्रपथ तथा भित्री सडक रुटहरूमा बस सञ्चालन गर्ने व्यवस्था मिलाएको छ। रुट नम्बर १ ले नक्साल, बालुवाटार, स्वयम्भू, कलङ्की, सातदोबाटो, लगनखेल र माइतीघर हुँदै पुनः नक्साललाई जोड्नेछ। यस्तै रुट नम्बर २ ले रत्नपार्क, बानेश्वर, सूर्यविनायक, कोटेश्वर, चाबहिल र सुकेधारा क्षेत्रका यात्रुहरूलाई सेवा दिनेछ भने रुट नम्बर ३ ले सोह्रखुट्टे, बालाजु, गौशाला, कोटेश्वर, एकान्तकुना र महाराजगन्ज लगायतका प्रमुख स्थानहरू समेट्नेछ।
निःशुल्क बस सेवा टीकाको दिन बिहान ८ बजे पहिलो सिफ्ट र दिउँसो ३:३० बजे दोस्रो सिफ्ट गरी दुई समयमा सञ्चालन हुनेछ। दसैँमा मान्यजनको हातबाट टीका थाप्न जाने सर्वसाधारणका लागि प्रहरीको यस कदमले ठूलो राहत पुर्याएको छ।