बडादसैँ–२०८३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

यस राष्ट्रिय चाडले हाम्रो विविधताबीचको एकता, पारस्परिक सम्मान र सहिष्णुतालाई अझ बलियो बनाओस् । आजको समयले हामीबाट अझ बढी धैर्य, सहिष्णुता र सहअस्तित्वको भावना अपेक्षा गरेको छ ।

हामी जहाँ र जुन अवस्थामा भए पनि मिठोमसिनो बाँडीचुँडी खाऔँ, एकअर्कालाई आडभरोसा दिऔँ र मनमुटाव बिर्सेर प्रेम, सद्भाव र आत्मीयता साटौँ । प्रत्येक मनमा खुसी पुग्न सकोस्, कोही पनि एक्लोपनमा हराउनु नपरोस् ।

प्राकृतिक विपत्ति हुन् वा युद्धका विभीषिका, यस्ता संकटले जति नै क्षति र निराशा निम्त्याए पनि सत्य, न्याय र मानवीयताप्रतिको विश्वासले हामीलाई फेरि उठ्ने साहस दिन्छ । इतिहासमा यस्ता अनेकौँ पीडा र कठिनाइका बीच पनि हामीले मानवीय मूल्य, करुणा र आशाको दियो निभ्न दिएका छैनौँ । यस दसैँले पनि जीवनप्रतिको भरोसा कायम राख्दै कठिन समयलाई आशा र साहसका साथ सामना गर्ने प्रेरणा देओस् ।

समाजमा विद्यमान विभेद, अन्याय र असमानता अन्त्य गर्ने दृढ संकल्पका साथ हामी सबै ऐक्यबद्ध बन्न सकौँ । न्याय, समानता र सम्मानपूर्वक बाँच्ने अवसर सुनिश्चित हुनु नै सुशासनको आधार हो । तसर्थ राज्यले पनि सुशासन स्थापना गर्दै सबै नागरिकको सम्मान, सुरक्षा र न्याय सुनिश्चित गर्न सकोस् ।
शुभ विजया दशमी !