काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०८३ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै देशको वर्तमान राजनीतिक, संवैधानिक तथा आर्थिक अन्योलप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ। असोज ३० गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी सन्देशमा उहाँले बाढीपहिरो र प्राकृतिक प्रकोपबाट पीडित नागरिकहरूको शीघ्र पुनर्स्थापना र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई राज्यले प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ।
भदौमा भोटेकोशीमा आएको भीषण बाढी र असोजको अविरल वर्षाका कारण बूढीगण्डकीलगायतका नदी तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पूर्वराजा शाहले प्रकृतिसँग सन्तुलन कायम गर्ने नीति लिनुपर्नेमा जोड दिनुभयो। साथै, विपद् पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान, राष्ट्रिय हित र स्थानीय परम्परा जोगिने गरी कूटनीतिक चातुर्यता अपनाउनुपर्ने उहाँको भनाइ छ।
देश अहिले किन अस्तव्यस्त र अलमलको स्थितिमा छ भन्दै प्रश्न गर्दै उहाँले प्रजातान्त्रिक विधि-प्रक्रियालाई सुदृढ पार्दै राष्ट्रियता र मौलिक मूल्यलाई दृढ बनाउनुपर्ने औँल्याउनुभयो। जोस-जाँगरका साथ राज्य सञ्चालनमा अघि बढेको नयाँ पुस्ताले देशवासीको मुहारमा हाँसो र उत्साह भर्ने आशा व्यक्त गर्दै पूर्वराजा शाहले विभाजित नभई एकताबद्ध र आत्मानिर्भर नेपाल निर्माणका लागि सबै नेपालीलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।