काठमाडौँ। नेपाल प्रहरीले ७१औँ प्रहरी दिवस–२०८३ को विशेष अवसरमा आफ्ना दुई उत्कृष्ट एवं काबिल अधिकृतहरूलाई उच्च सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। प्रहरी संगठनमा देखाएको उत्कृष्ट व्यावसायिकता, कर्तव्यनिष्ठता र कार्यकुशलताको कदर गर्दै लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भुपेन्द्र खत्री र प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीलाई पुरस्कृत गर्न लागिएको हो।
घोषणा अनुसार डीआईजी भुपेन्द्र खत्रीलाई नेपाल प्रहरीको प्रतिष्ठित ‘पुलिस ब्याटन’ र एसपी अंगुर जिसीलाई ‘पूर्ण शान्ति पुरस्कार’ प्रदान गरिनेछ। प्रहरी सेवाका क्रममा सुम्पिएका जटिल जिम्मेवारीहरू सफलतापूर्वक निर्वाह गर्दै आएका खत्री र जिसी दुवै अधिकृतहरू संगठनभित्र व्यावसायिक दक्षता र दृढ प्रतिबद्धताका लागि परिचित छन्। उनीहरूले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी दिवसको शुभ अवसरमा यो सम्मान प्रदान गर्न लागिएको हो।