काठमाडौँ। रसुवास्थित माथिल्लो त्रिशूली ३–ए जलविद्युत आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर जीवितै उद्धार गरिएका मेकानिकल सुपरभाइजर कविर महर्जन स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। गत भदौ १० गते आएको भीषण बाढीका कारण सुरुङभित्र थुनिनुभएका महर्जनलाई सुरक्षा निकायको संयुक्त टोलीले जीवितै बाहिर निकालेको थियो।
उद्धारलगत्तै वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना हुनुभएका महर्जन लामो समयको शारीरिक तथा मानसिक तनावपछि पूर्ण रूपमा स्वस्थ भई शुक्रबार डिस्चार्ज हुनुभएको हो। काठमाडौँबाट ललितपुरस्थित आफ्नो निवास फर्किने क्रममा स्थानीयवासी तथा शुभेच्छुकहरूले उहाँलाई विभिन्न स्थानमा फूलमाला लगाएर भव्य स्वागत गरेका छन्।
अस्पतालबाट बिदा हुने क्रममा भावुक हुनुभएका महर्जनले आफूलाई अँध्यारो सुरुङबाट निकालेर नयाँ जीवन प्रदान गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको उद्धार टोली तथा उपचारमा अहोरात्र खटिने चिकित्सकहरूप्रति विशेष आभार प्रकट गर्नुभयो।