काठमाडौँ — बाढी तथा विपद्बाट प्रभावित महिलाको पुनःस्थापना, रोजगारी सिर्जना र महिला उद्यमशीलता प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गर्ने विषयमा छलफल भएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीसँग नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) महिला उद्यमी विकास समितिकी सभापति सुनिता नेमाफुकी र एफएनसीसीआई कार्यसमिति सदस्य गीता अमात्याले आज भेटवार्ता गर्नुभएको हो।

भेटवार्तामा बाढीबाट प्रभावित महिलालाई राहतपछि रोजगारीका अवसरसँग जोड्ने, स्वरोजगार तथा उद्यमशीलतामा प्रोत्साहित गर्ने र प्रभावित व्यवसाय पुनःसञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो।

प्रभावित महिलाको आवश्यकता, सीप र रुचिअनुसार रोजगारी तथा उद्यमशीलताको अवसर सिर्जना गर्ने, महिला उद्यमीलाई व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक सीप, बजार पहुँच, व्यावसायिक सञ्जाल र निजी क्षेत्रको सहजीकरण उपलब्ध गराउने विषयमा समेत छलफल भएको थियो।

मन्त्री सिता बादीले विपद्बाट प्रभावित महिलाको पुनःस्थापनालाई राहत वितरणमा मात्र सीमित नराखी रोजगारी र उद्यमशीलतामार्फत आर्थिक रूपमा सबल बनाउने दिशामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो। प्रभावित महिलालाई आफ्नो क्षमता र आवश्यकताअनुसार रोजगारी वा उद्यमको अवसरमा जोड्न सरकार र निजी क्षेत्रको सहकार्य महत्वपूर्ण हुने उहाँको भनाइ थियो।

भेटवार्तामा बाढी प्रभावित महिलाको पुनःस्थापना, रोजगारी सिर्जना, महिला उद्यमशीलता प्रवर्द्धन तथा व्यवसाय पुनःसञ्चालनका लागि आगामी दिनमा सरकार र निजी क्षेत्रबीच सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।