काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनसम्बन्धी छलफलमा केन्द्रीय सदस्य तथा हुम्ला इन्चार्ज दल रावलले परिणामभन्दा त्यसका कारण खोजेर पार्टीलाई नयाँ ऊर्जा दिनुपर्नेमा जोड दिएका छन्। उनले निर्वाचन समीक्षा हार–जितको अंकगणितमा सीमित नभई जनतासँगको सम्बन्ध, संगठनको अवस्था, उम्मेदवार छनोटदेखि पार्टीको कार्यशैलीसम्म गम्भीर आत्मसमीक्षा गर्ने अवसर बन्नुपर्ने बताए। एमाले केन्द्रीय समितिको बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ।

त्यसै क्रममा केन्द्रीय सदस्य रावलले ‘हामी कहाँ चुक्यौँ ? जनतासँग हाम्रो दूरी कहाँ बढ्यो ? संगठन किन कमजोर भयो ?’ भन्ने प्रश्नको तथ्यपरक र इमानदार उत्तर खोज्नुपर्ने बताए। उनका अनुसार आत्मसमीक्षा आत्मरक्षाका लागि नभई आत्मसुधारका लागि हुनुपर्छ। रचनात्मक समीक्षा गर्न नसके चुनाव जिते पनि राजनीति हार्ने अवस्था आउन सक्ने उनको भनाइ थियो।

रावलले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास र सामूहिक निर्णय प्रक्रियालाई पनि समीक्षा गर्नुपर्ने बताए। अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने विषय आफूहरूले नउठाएको स्पष्ट पार्दै उनले चुनौतीपूर्ण अवस्थामा संवाद, सहभागिता र सामूहिक निर्णयको संस्कार कसरी अझ बलियो बनाउने भन्ने नै मुख्य प्रश्न भएको बताए। अध्यक्षकै सहमतिमा सचिवालयले गठन गरेको कार्यदलले करिब चार महिनासम्म भौगोलिक र गैरभौगोलिक गरी विभिन्न तहमा छलफल गरेर तयार पारेको प्रतिवेदनमा भुइँ तहका आवाज समेटिएको भन्दै त्यसलाई गम्भीरतापूर्वक छलफलमा ल्याउनुपर्ने उनको धारणा थियो।

‘असहमति कमजोरी होइन, असहमतिलाई दबाउनु कमजोरी हो। असहमतिलाई संवाद र संस्थागत निर्णयमा रूपान्तरण गर्नु शक्ति हो,’ रावलले भने। फरक मत राख्न सकिने सम्मानजनक वातावरण नै जीवन्त र गतिशील पार्टीको पहिचान भएको उनको भनाइ थियो।

उनले निर्वाचन समीक्षाको निष्कर्ष कागजमा सीमित नराखी कमजोरी पहिचान, जिम्मेवारी निर्धारण, स्पष्ट विधि र समयसीमासहितको कार्ययोजना बनाउनुपर्ने बताए। पार्टी पुनर्गठन कसैलाई हराउने वा विस्थापित गर्ने अभियान नभई एमालेलाई बलियो बनाउने, पुस्तालाई जोड्ने र विचार, संगठन तथा राजनीतिक संस्कृतिको पुनर्जागरण गर्ने प्रक्रिया हुनुपर्ने उनले बताए।

रावलले बदलिँदो राजनीतिक परिस्थितिअनुसार पार्टीले आफ्ना रणनीति र कार्यशैलीमा पनि परिवर्तन गर्नुपर्ने धारणा राखे। जर्मनीको एसपीडीले १९५९ को गोडेसबर्ग कार्यक्रममार्फत तथा चीनले १९७८ को तेस्रो प्लेनमपछि सुधार र खुलापनतर्फ अघि बढेको उदाहरण दिँदै उनले एमालेले पनि विगतबाट सिकेर नयाँ बाटो पहिल्याउनुपर्ने बताए। ‘हिजोको अनुभव हाम्रो सम्पत्ति हो, तर हिजोको कार्यशैली आजको उत्तर हुन सक्दैन,’ उनले भने।

यसै क्रममा रावलले संसद् पुनर्स्थापनाको मुद्दालाई पार्टीले अघि बढाउने विषयमा पनि सावधानी आवश्यक रहेको धारणा राखेका छन्। उक्त मुद्दा अहिलेको राजनीतिक परिस्थितिमा पार्टीका लागि घातक तथा अलोकप्रिय बन्न सक्ने उनको तर्क थियो। उनका अनुसार पार्टीले विगतको राजनीतिक बहसमा अल्झिनुभन्दा जनताको बदलिँदो अपेक्षा, संगठन सुदृढीकरण र आगामी राजनीतिक कार्यदिशालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।

रावलले एमालेको पुनर्जागरणका लागि अनुभवी पुस्ताको ज्ञान र नयाँ पुस्ताको ऊर्जालाई जोड्नुपर्ने, संगठनलाई चुस्त, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने तथा पार्टीलाई थप लोकतान्त्रिक, वैचारिक रूपमा स्पष्ट र जनमुखी बनाउनुपर्ने बताए।

अन्त्यमा उनले अध्यक्ष ओलीलाई पार्टीको आन्तरिक जीवनमा आफूले प्राप्त गर्नुपर्ने उपलब्धि धेरै बाँकी नरहेको भन्दै अब एकताबद्ध पार्टी, वामपन्थी आन्दोलन र देशलाई विजयी बनाउने दिशामा नेतृत्व केन्द्रित हुनुपर्ने आग्रह गरे। ‘यस निर्वाचन समीक्षालाई एउटा दस्तावेजमा सीमित नगरौँ, यसलाई कमजोरी सच्याउने, संगठन सुदृढ गर्ने र एमालेको पुनर्जागरणको ठोस कार्ययोजना बनाऔँ,’ रावलले बैठकमा भने।