यमनमा सक्रिय हुथी विद्रोही समूह पछिल्लो समय मध्यपूर्वको शक्ति समीकरणमा झन् प्रभावशाली बन्दै गएको छ। लेबनानमा हेजबोल्लाह कमजोर भएपछि इरानको क्षेत्रीय ‘रेजिस्टेन्स एक्सिस’मा हुथीको रणनीतिक महत्व बढेको विश्लेषण भइरहेका छन्। जर्मन मिडिया डीडब्ल्यूले हालै हुथीलाई इरानको ‘नयाँ हेजबोल्लाह’का रूपमा विश्लेषण गर्दै समूहको बढ्दो सैन्य तथा रणनीतिक प्रभावलाई औँल्याएको छ।
हुथीको प्रभाव यमनको सीमाभन्दा बाहिर पुग्नुको मुख्य कारण बाब अल–मन्दब जलडमरूमध्य हो। मोखा बन्दरगाह र आसपासका रणनीतिक क्षेत्रमाथि नियन्त्रण तथा त्यहाँबाट समुद्री मार्गमा दबाब सिर्जना गर्ने क्षमताले हुथीलाई विश्व व्यापार र ऊर्जा आपूर्तिमा प्रभाव पार्न सक्ने अवस्थामा पुर्याएको विश्लेषण छ। बाब अल–मन्दब लाल सागर र अदनको खाडी जोड्ने महत्वपूर्ण समुद्री मार्ग हो, जहाँबाट ठूलो परिमाणमा ऊर्जा तथा अन्तर्राष्ट्रिय व्यापारिक सामान ओहोरदोहोर गर्छन्।
यसले इरानका लागि होर्मुजपछि अर्को रणनीतिक समुद्री दबाबबिन्दु सिर्जना गर्न सक्छ। बाब अल–मन्दबमा अवरोध वा तनाव बढ्दा तेल आपूर्ति, समुद्री ढुवानी, बीमा तथा एसिया–युरोप आपूर्ति शृंखलामा असर पर्न सक्छ। साउदी अरेबियाको तेल निर्यात र क्षेत्रीय ऊर्जा पूर्वाधार पनि यसको प्रत्यक्ष जोखिममा पर्न सक्छ।
कुनै समय यमनको पहाडी क्षेत्रमा सीमित विद्रोही समूहका रूपमा रहेको हुथी अहिले ब्यालेस्टिक तथा क्रुज मिसाइल र सशस्त्र ड्रोन प्रयोग गर्न सक्ने सैन्य शक्ति बनेको छ। काउन्सिल अन फरेन रिलेसन्सका अनुसार इरानले हुथीलाई हतियार, तालिम, गुप्तचर सहयोग तथा मिसाइल–ड्रोन क्षमताको विकासमा सहयोग गरेको छ। तर हुथीलाई पूर्ण रूपमा तेहरानको नियन्त्रणमा रहेको समूहका रूपमा बुझ्नु सही नहुने र उसको आफ्नै स्थानीय तथा क्षेत्रीय उद्देश्यसमेत रहेको विश्लेषण छ।
यही कारण हेजबोल्लाह र हुथीबीचको तुलना थप चर्चामा आएको छ। हेजबोल्लाहले लामो समय इरानका लागि लेबनानबाट इजरायलमाथि रणनीतिक दबाब सिर्जना गर्दै आएको थियो। तर हेजबोल्लाहको सैन्य क्षमतामा क्षति पुगेपछि यमनबाट सक्रिय हुथीले लाल सागर र विश्व व्यापार मार्गलाई प्रभावित गर्न सक्ने फराकिलो रणनीतिक भूमिका हासिल गरेको विश्लेषण भइरहेको छ।
तर हुथीको बढ्दो सैन्य प्रभावको मूल्य यमनका नागरिकले पनि चुकाइरहेका छन्। पछिल्लो द्वन्द्वले ठूलो संख्यामा मानिसलाई विस्थापित गरेको छ र हजारौँले समुद्री बाटोबाट जिबुटीतर्फ पलायन गरेको संयुक्त राष्ट्रसंघीय आप्रवासनसम्बन्धी निकायको तथ्यांक उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
यसरी हुथीको शक्ति विस्तार अब यमनको गृहयुद्धमा मात्र सीमित विषय रहेन। यसको प्रभाव इरान–साउदी प्रतिस्पर्धा, इजरायलको सुरक्षा, लाल सागरको समुद्री मार्ग, विश्व ऊर्जा बजार र एसिया–युरोप व्यापारसम्म फैलिएको छ। त्यसैले बाब अल–मन्दबमाथि बढ्दो तनावले मध्यपूर्वको अर्को युद्धक्षेत्रसँगै विश्व व्यापारको संवेदनशील ‘चोकपोइन्ट’लाई समेत जोखिममा पारिरहेको छ।