मारिब । यमनको मारिबमा भेटिएको एउटा मिसाइल अवशेषले मध्यपूर्वको युद्धमा चिनियाँ डीएफ–१५ए ब्यालिस्टिक मिसाइल पहिलोपटक प्रयोग भएको हुनसक्ने आशंका जन्माएको छ।

रघवान जिल्लामा भेटिएको अवशेषको बुस्टरमा स्पष्ट रूपमा ‘डीएफ–१५ए’ लेखिएको तस्बिर र भिडियो सार्वजनिक भएपछि यसबारे अन्तर्राष्ट्रिय सैन्य विश्लेषकहरूको ध्यान तानिएको हो। डीएफ–१५ए करिब ९०० किलोमिटरसम्म मार हान्न सक्ने ठोस इन्धनयुक्त छोटो दूरीको ब्यालिस्टिक मिसाइल हो।

तर मुख्य प्रश्न अझै अनुत्तरित छ—यो मिसाइल कसले प्रयोग गर्‍यो र यमनसम्म कसरी पुग्यो?

सबैभन्दा बढी चर्चा साउदी अरबको सम्भावित संलग्नतालाई लिएर भइरहेको छ। साउदीसँग चिनियाँ डीएफ–३ र डीएफ–२१ मिसाइल रहेको सार्वजनिक तथ्य भए पनि डीएफ–१५ए आफ्नो भण्डारमा रहेको रियादले पुष्टि गरेको छैन।

अर्कोतर्फ, हुथी समूहले इरान वा अन्य माध्यमबाट यस्तो मिसाइल प्राप्त गरेको हुनसक्ने अड्कल पनि छ। तर त्यसको पुष्टि गर्ने विश्वसनीय प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन।

चीन, साउदी अरब र यमन सरकारबाट पनि यसबारे औपचारिक पुष्टि आएको छैन। त्यसैले मारिबमा भेटिएको अवशेष अहिलेका लागि चिनियाँ डीएफ–१५ए मध्यपूर्वको युद्धभूमिमा पुगेको सम्भावित प्रमाण मात्र हो।

यदि यसको प्रयोगकर्ता र आपूर्ति मार्ग पुष्टि भयो भने, यसले मध्यपूर्वमा चिनियाँ मिसाइल प्रविधिको पहुँच र क्षेत्रीय हतियार सञ्जालबारे महत्वपूर्ण नयाँ तथ्य उजागर गर्न सक्छ।