२०७९को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा भएको चेतनदीप अयडी हत्याकाण्डको फैसला अब नजिकिएको छ। करिब चार वर्षदेखि बाजुरा जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दामा न्यायाधीश ताराप्रसाद डाँगीको इजलासमा सुनुवाइ सकिएसँगै फैसला आउने बाटो खुलेको हो।

बुधबार र बिहीबार लगातार दुई दिन भएको बहसपछि मुद्दा फैसलाका लागि अघि बढेको हो। जाहेरवाला तथा मृतक चेतनका बुवा गगन अयडीका तर्फबाट सरकारी वकिलसँगै वरिष्ठ अधिवक्ताहरू राजेन्द्र साउद, रामबहादुर खड्का, रामबहादुर रावल र वसन्त जोशीले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट भने जगत बमलगायत कानुन व्यवसायीले बहस गरेका थिए।

२०७९ मंसिर ४ गतेको निर्वाचनका दिन बाजुराको कैलाशमाडौँमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनदीप अयडीको घर घेरा हालेर ठूलो समूहले कुटपिट गरी हत्या गरेको अभियोगमा मुद्दा चलिरहेको छ। निर्वाचनकै दिन भएको उक्त घटनाले बाजुराको चुनावी वातावरणलाई स्तब्ध बनाएको थियो। घटनासँग सम्बन्धित भिडियोसमेत सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भएको थियो।

मुद्दामा २४ जनाविरुद्ध अभियोगपत्र दायर भएको विवरण छ। यस घटनामा ७ जना मात्र थुनामा छन् । ११ जना धरौटी तारिखमा छुटेका छन् भने ६ जना साधारण तारिखमा छन् । केहीलाई भने प्रहरीले फरकफरक समयमा पक्राउ गरी अदालतमा पेस गरेको थियो।

यसअघि जिल्ला र उच्च अदालतबाट थुनामा पठाइएका केही अभियुक्तलाई सर्वोच्चले साधारण तारिखमा छाडेको थियो। उक्त आदेशपछि मृतक चेतनका आफन्तले न्यायिक प्रक्रियामा प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिसम्म उजुरी दिएका थिए। यद्यपि सम्बन्धित न्यायाधीशको नियुक्ति प्रक्रिया भने अघि बढेको थियो।
अभियुक्तमध्ये ६ जनालाई जीवनभर (आजन्म) कैद गर्न र बाँकी १८ जनालाई दफा १७७ बमोजिम जन्मकैद (२५ वर्ष) सजाय गर्न अभियोगपत्रमा माग गरिएको छ ।
अब भने लामो समयदेखि प्रतीक्षामा रहेको मुद्दाको मूल फैसला बाजुरा जिल्ला अदालतबाट आउने चरणमा पुगेको छ। चार वर्षअघि निर्वाचनका दिन भएको उक्त हिंसात्मक घटनाको कानुनी टुंगो अब अदालतको फैसलामार्फत लाग्ने भएको छ।
यी हुन् २४ जना प्रतिवादी
थुनामा रहेका प्रतिवादीहरु:
१. धनराज थापा
२. जंग भन्ने शेर बहादुर अयडी
३. खेमराज अयडी
४. सागर अयडी
५. लोकेश अयडी
६. जीवन अयडी
७. पदम अयडी
धरौटी तारिखमा रहेका प्रतिवादीहरुः
१. मंगल भन्ने मदन बहादुर अयडी
२. निरज बहादुर अयडीः
३. नर बहादुर अयडी
४. उद्धव बहादुर अयडी
५. रतन बहादुर अयडीः
६. अनिता रौले अयडी
७. मोहन बहादुर अयडी
८. नवीन बहादुर अयडी
९. ईश्वरी देवी अयडी
१०. धनादेवी अयडी
११. नरेश बहादुर अयडी
साधारण तारिखमा रहेका प्रतिवादीहरु:
१. भूपाल अयडी
२.चक्र अयडी
३. रुपा चौधरी अयडी
४. जुद्ध अयडी
५. रनसिंह बहादुर अयडी
६. विनोद अयडी