इरान युद्धको असर अब साउदी अरबको सीमासम्म मात्र होइन, उसको तेल निर्यात र समुद्री व्यापारको मुटुसम्म पुगेको छ। इरान समर्थित हुथी विद्रोहीहरूले यमनमा तीव्र रूपमा आफ्नो प्रभाव विस्तार गर्दै लाल सागरका रणनीतिक क्षेत्र कब्जा गरेपछि साउदी अरबमाथि सुरक्षा र आर्थिक दबाब एकैपटक बढेको छ। पछिल्लो समय मोखा बन्दरगाह तथा ग्रेटर र लेसर हानिस द्वीपमाथि हुथीहरूको नियन्त्रणले बाब अल–मन्देब जलडमरूमध्य आसपासको समुद्री मार्गमा उनीहरूको प्रभाव थप बलियो भएको रिपोर्टहरू छन्।
साउदीका लागि यो केवल समुद्री सुरक्षाको समस्या होइन। होर्मुज जलडमरूमध्यमा इरानको गतिविधिका कारण तेल निर्यातको वैकल्पिक बाटोका रूपमा प्रयोग भइरहेको १,२०० किलोमिटर लामो ईस्ट–वेस्ट तेल पाइपलाइन समेत ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको छ। उक्त पाइपलाइन केही सातासम्म ठूलो मात्रामा बन्द रहन सक्ने बताइएको छ। यसले साउदी तेललाई फारसको खाडीबाट लाल सागरतर्फ लैजाने महत्वपूर्ण विकल्पमा समेत गम्भीर दबाब सिर्जना गरेको छ।
यता हुथीहरूले साउदी भूभागमा ड्रोन र क्षेप्यास्त्र आक्रमण तीव्र बनाएका छन्। पछिल्लो घटनामा साउदी नेतृत्वको गठबन्धनले मक्काको प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नुअघि एउटा हुथी ड्रोन खसालेको जनाएको छ। साउदी अधिकारीहरूले मक्का र मुस्लिम धर्मावलम्बीका पवित्र स्थलको सुरक्षा आफ्नो ‘रेड लाइन’ भएको बताएका छन्। हुथीहरूले भने मक्का वा अन्य धार्मिक स्थललाई निशाना बनाएको अस्वीकार गरेका छन्।
यसबीच साउदी नेतृत्वले सैन्य प्रतिक्रिया र क्षेत्रीय समर्थन जुटाउने प्रयासलाई अघि बढाएको छ। युवराज मोहम्मद बिन सलमानले इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग भेटवार्ता गर्दै बढ्दो हुथी चुनौती र लाल सागरको सुरक्षा विषयमा छलफल गरेका छन्। तर यमनमा ठूलो स्थल सैन्य अभियान अघि बढाउनु साउदीका लागि अझ संवेदनशील विकल्प बनेको छ।
संकटको मानवीय मूल्य पनि तीव्र रूपमा बढिरहेको छ। संयुक्त राष्ट्रसंघीय तथ्याङ्कअनुसार पछिल्लो चरणको लडाइँमा यमनभित्र करिब एक लाख मानिस विस्थापित भएका छन्। सयौँ मानिस मारिएको वा घाइते भएको रिपोर्टसँगै लाल सागर आसपासको अस्थिरताले व्यापारिक जहाज र ऊर्जा आपूर्तिमाथि थप जोखिम सिर्जना गरेको छ।