यस बेला मलाई मेरी दिदीकी छोरी, उत्कृष्ट सिने कलाकार मनिषा कोइरालाको निरन्तर सम्झना आइरहेको छ। उनले जीवनको यस्तो जटिल र गम्भीर रोगसँग जुध्दै त्यो कठिन, अँध्यारो र कालो सुरुङको यात्रा कसरी पार गरिन् होला? कति भय, कति पीडा र कति एक्लोपन सहेर उनी फेरि जीवनको उज्यालोतर्फ फर्किइन् होला?

आज मेरो जीवनयात्रा पनि एउटा कालो सुरुङबाट गुज्रिरहेको छ। जहाँ चारैतिर भय, पीडा, एक्लोपन र भविष्यको चिन्ताले मलाई घेरेका छन्। तर पनि यो अँध्यारो सुरुङभित्र ईश्वरप्रतिको विश्वासको ज्योति, मेरो डाक्टर राजेन्द्र बराल को राम्रो हेरचार र मेरा शुभचिन्तकहरूको माया र आशा को मुस्कान हृदयमा बोकेर म अगाडि बढिरहेकी छु।

जीवनको यही कठिन यात्रामा ईश्वर ले फेरि एकपटक मलाई जीवनको एउटा कटु सत्यसँग साक्षात्कार गराउनुभएको छ— “हेर, यही हो जीवनको सत्यदर्पण—को आफ्नो, को पराया? साँचो नाता त दुःखमा मात्र चिनिँदो रहेछ।”

सफलता र सुखका दिनमा वरिपरि अनेकौँ प्रशंसक र आफन्तहरू हुन्छन्। आफ्ना स्वार्थका लागि नजिकिनेहरूको पनि कमी हुँदैन। भोजभतेर र उत्सवमा सबैको सहभागिता हुन्छ। तर जब जीवनको अँध्यारोमा एक्लै उभिनुपर्छ, तब निःस्वार्थ भावले हात समातेर साथ दिने हातहरू विरलै भेटिन्छन्।

सायद दुःख नै त्यो सत्यदर्पण रहेछ, जसले सम्बन्धहरूको वास्तविक अनुहार देखाउँछ। सुखमा साथ दिनेहरू धेरै हुन्छन्, तर दुःखमा कुनै स्वार्थबिना हात समातेर, केही नभनी मौन रूपमा साथ दिने एक–दुई जना नै जीवनका लागि पर्याप्त हुन्छन्।

अन्ततः जीवनले यही सिकाउँदो रहेछभीडले होइन, कठिन समयमा साथ दिने केही सच्चा मनहरूले जीवनलाई बलियो बनाउँछन्।

(प्रख्यात चित्रकार रागिनी उपाध्याय नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपति बन्ने पहिलो महिला हुन् )