कायरो। इजिप्टको कायरोस्थित फौजदारी अदालतले टेलिभिजन प्रस्तोता तथा मिडिया व्यक्तित्व सारा खलिफासहित १२ जनालाई ठूलो परिमाणमा कृत्रिम लागूऔषध उत्पादन तथा तस्करीसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाएको छ। अदालतले यही मुद्दामा अन्य नौ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ भने सात जनालाई सफाइ दिएको छ। कुल २८ जना प्रतिवादी रहेको यो मुद्दालाई इजिप्टमा चर्चित ‘ग्रान्ड ड्रग केस’ का रूपमा हेरिएको छ।

३९ वर्षीया खलिफा अपराध तथा सुरक्षा विषयमा केन्द्रित टेलिभिजन कार्यक्रम ‘मिसन इम्पोसिबल’ सञ्चालन गरेका कारण परिचित थिइन्। उनी टेलिभिजन प्रस्तोतासँगै व्यवसायमा समेत संलग्न रहेको र सामाजिक सञ्जालमा ठूलो संख्यामा फलोअर्स रहेको बताइएको छ। विडम्बनापूर्ण रूपमा, अपराध तथा सुरक्षा विषयमै कार्यक्रम सञ्चालन गर्ने खलिफामाथि नै संगठित लागूऔषध कारोबारमा संलग्न रहेको अभियोग लागेको थियो।

अभियोजन पक्षका अनुसार खलिफासहितका प्रतिवादीहरूले विदेशबाट लागूऔषध उत्पादनमा प्रयोग हुने कच्चा रासायनिक पदार्थ आयात गरी कृत्रिम लागूऔषध उत्पादन तथा त्यसको अवैध कारोबार गर्ने उद्देश्यले संगठित आपराधिक सञ्जाल सञ्चालन गरेका थिए। उनीहरूले कायरोका आवासीय भवन तथा अपार्टमेन्टलाई कच्चा पदार्थ भण्डारण गर्ने र लागूऔषध उत्पादन गर्ने गोप्य प्रयोगशालाका रूपमा प्रयोग गरेको अनुसन्धानबाट खुलेको दाबी गरिएको छ। सञ्जालका सदस्यहरूबीच कच्चा पदार्थ ल्याउने, उत्पादन गर्ने र बजारमा पुर्‍याउने गरी जिम्मेवारी बाँडिएको अभियोजन पक्षले जनाएको छ।

अनुसन्धानका क्रममा प्रहरीले ७५० किलोग्रामभन्दा बढी कृत्रिम लागूऔषध तथा त्यसको उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ बरामद गरेको थियो। त्यस्तै, बिना अनुमति राखिएका बन्दुक तथा गोलीगठ्ठासमेत फेला परेको अभियोजन पक्षको दाबी छ। मुद्दामा २० जना साक्षीको बयानसँगै फोन संवाद, तस्वीर, भिडियो तथा अन्य डिजिटल र प्राविधिक प्रमाणलाई समेत आधार बनाइएको थियो।

अनुसन्धानअनुसार खलिफाले आपराधिक समूहलाई आर्थिक सहयोग गरेको तथा विदेश यात्रा गरी समूहका अन्य सदस्यसँग कच्चा पदार्थ आयात र कारोबारसम्बन्धी समन्वय गरेको आरोप लगाइएको थियो। केही इजिप्टेली सञ्चारमाध्यमका अनुसार उनले उत्पादन र वितरण प्रक्रियासँग सम्बन्धित गतिविधिमा समेत भूमिका निर्वाह गरेको अभियोजन पक्षको दाबी थियो।

खलिफाले भने आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आएकी छन्। अदालतमा उनी भावुक बनेर आफू निर्दोष रहेको दाबी गरेकी थिइन्। अनुसन्धानका क्रममा आफूले जीवनमा कहिल्यै चुरोटसमेत नखाएको भन्दै लागूऔषध कारोबारसँग आफ्नो सम्बन्ध नरहेको उनको भनाइ थियो।

मृत्युदण्ड सुनाउनुअघि अदालतले इजिप्टका ग्रान्ड मुफ्ती समक्ष धार्मिक रायका लागि मुद्दा पठाएको थियो। इजिप्टको कानुनी व्यवस्थाअनुसार मृत्युदण्डसम्बन्धी मुद्दामा अदालतले अन्तिम फैसला सुनाउनुअघि मुफ्तीको राय लिनुपर्ने व्यवस्था छ। यद्यपि उक्त राय बाध्यकारी हुँदैन। अगस्टमा अदालतले सारा खलिफासहित १३ प्रतिवादीको मुद्दा मुफ्तीसमक्ष पठाएर सेप्टेम्बर ५ मा फैसला सुनाउने मिति तोकेको थियो।

सेप्टेम्बर ५ मा आएको अन्तिम फैसलामा भने १३ मध्ये खलिफासहित १२ जनालाई मृत्युदण्ड र एक जनाको हकमा फरक सजायसहित कुल २८ प्रतिवादीमध्ये नौ जनालाई आजीवन कारावास र सात जनालाई सफाइ दिइएको छ।

तर खलिफाको मृत्युदण्डको फैसला अन्तिम भने भइसकेको छैन। उनलाई फैसला पुनरावलोकन तथा अपिलका लागि थप कानुनी प्रक्रिया उपलब्ध रहेको र उनको पक्षले इजिप्टको उच्च अदालतमा चुनौती दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। त्यसैले अदालतले मृत्युदण्ड सुनाए पनि तत्कालै सजाय कार्यान्वयन हुने अवस्था नरहेको बताइएको छ।

यसैबीच, खलिफासँग सम्बन्धित अर्को छुट्टै मुद्दामा पनि कायरोको सोही अदालतले उनलाई चालकलाई कुटपिट गरेको र उक्त घटना भिडियोमा रेकर्ड गरेको अभियोगमा तीन वर्षको कारावास सजाय सुनाएको छ। उक्त मुद्दा ‘ग्रान्ड ड्रग केस’ भन्दा अलग रहेको जनाइएको छ।

यो घटनाले इजिप्टमा लागूऔषध उत्पादन तथा तस्करीविरुद्ध राज्यले अपनाउँदै आएको कडा कानुनी नीतिलाई समेत पुनः चर्चामा ल्याएको छ। इजिप्टमा लागूऔषध तस्करीसहित केही गम्भीर अपराधमा मृत्युदण्डको कानुनी व्यवस्था रहेको छ।