नयाँदिल्ली । भारतीय राष्ट्रिय कांग्रेसकी वरिष्ठ नेतृ सोनिया गान्धीको लामो समयदेखि प्रतीक्षित आत्मकथा बिलोङ्गिङ : अ जर्नी अफ लभ सार्वजनिक हुने तयारीसँगै भारतीय राजनीतिमा नयाँ चासो उत्पन्न भएको छ। पुस्तकमा सोनिया गान्धीले इटालीमा बिताएको बाल्यकालदेखि बेलायतको क्याम्ब्रिजमा अध्ययन, राजीव गान्धीसँगको प्रेम र विवाह, भारतमा आगमन, परिवारमाथि आइपरेका लगातारका त्रासदीपूर्ण घटनादेखि आफू भारतीय राजनीतिमा प्रवेश गरेको यात्रासम्मका व्यक्तिगत तथा राजनीतिक अनुभवलाई पहिलोपटक आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरेकी छन्। पुस्तक १० नोभेम्बर २०२६ मा नप डबलडे पब्लिसिङ ग्रुपबाट प्रकाशित हुने विवरण गुगल बुक्समा उपलब्ध छ र यसमा ५४४ पृष्ठ रहने उल्लेख छ।

पुस्तकलाई सोनिया गान्धीको जीवनको निजी र राजनीतिक दुवै पक्षलाई समेट्ने संस्मरणका रूपमा प्रस्तुत गरिएको छ। पुस्तकको सुरुवात सन् १९६५ मा क्याम्ब्रिजमा अंग्रेजी अध्ययनका लागि पुगेकी १९ वर्षीया सोनिया मैनोको जीवनबाट हुन्छ, जहाँ उनको पहिलो भेट राजीव गान्धीसँग भएको थियो। त्यसपछि उनी भारत आइन्, राजीवसँग विवाह गरिन् र भारतीय समाज तथा संस्कृतिसँग क्रमशः घुलमिल हुँदै आफ्नो नयाँ जीवन निर्माण गरिन्। पुस्तकमा उनले हिन्दी भाषा सिक्ने, भारतीय पोशाक र खानपान अपनाउने तथा दिल्लीको राजनीतिक परिवारभित्रको जीवनलाई नजिकबाट अनुभव गरेको प्रसंगसमेत समेटेकी छन्।

सोनियाको आत्मकथाको महत्वपूर्ण पक्ष परिवारमाथि आइपरेका असह्य व्यक्तिगत क्षतिहरू रहेको छ। राजीव गान्धीकी आमासमेत रहेकी तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको सन् १९८४ मा हत्या भएपछि राजीव गान्धी अनिच्छाका बाबजुद प्रधानमन्त्रीको भूमिकामा पुगेका थिए। त्यसको सात वर्षपछि सन् १९९१ मा चुनावी अभियानका क्रममा राजीव गान्धी आत्मघाती बम विस्फोटमा मारिए। पुस्तकले यी घटनाले सोनियाको व्यक्तिगत जीवन, उनको मानसिक संसार र भारतप्रतिको जिम्मेवारीबोधमा पारेको प्रभावलाई विशेष रूपमा प्रस्तुत गर्ने बताइएको छ।

राजीव गान्धीको हत्यापछि लामो समयसम्म सक्रिय राजनीतिबाट टाढा रहेकी सोनिया अन्ततः कांग्रेसको नेतृत्वमा आइन्। पुस्तकको विवरणअनुसार उनले सुरुमा राजनीतिक जिम्मेवारी लिन प्रतिरोध गरे पनि पछि कांग्रेसको अध्यक्षका रूपमा पार्टीको नेतृत्व सम्हालिन् र भारतीय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गरिन्। उनी कांग्रेसको सबैभन्दा लामो समय नेतृत्व गर्ने अध्यक्षमध्ये एक बनिन्। सन् २००४ को लोकसभा निर्वाचनपछि कांग्रेस नेतृत्वको गठबन्धनले सरकार बनाउने अवस्था आएपछि प्रधानमन्त्री बन्ने अवसरसमेत सोनियासामु आएको थियो। तर उनले प्रधानमन्त्रीको पद अस्वीकार गर्दै सरकार गठनको राजनीतिक नेतृत्व गठबन्धनमार्फत अघि बढाउने निर्णय गरेकी थिइन्। यही निर्णय भारतीय राजनीतिमा उनको सबैभन्दा चर्चित राजनीतिक क्षणमध्ये एक मानिन्छ।

आत्मकथामा उनको पहिचान र ‘घर’को अनुभूति पनि महत्वपूर्ण विषयका रूपमा आएको छ। इटालीमा जन्मेकी र पछि भारतमा जीवन बिताएकी सोनियाले आफ्नो व्यक्तिगत पहिचान, भारतसँगको सम्बन्ध र आफूले अपनाएको देशप्रतिको भावनात्मक सम्बन्धबारे आत्ममन्थन गरेकी छन्। प्रकाशकसम्बन्धी पुस्तक विवरणले बेलोङ्गिङ लाई प्रेम, परिवार, कर्तव्य, पहिचान र भारतसँगको सम्बन्धको कथा मात्र नभई व्यक्तिगत त्रासदीपछि जीवनलाई पुनःनिर्माण गर्ने एक महिलाको साहसिक यात्राका रूपमा चित्रण गरेको छ।

यसैबीच राहुल गान्धीले सामाजिक सञ्जालमार्फत आमाको आत्मकथा सार्वजनिक हुन लागेकोमा भावुक प्रतिक्रिया दिएका छन्। राजीव गान्धीको जन्मदिनको अवसर पारेर लेखिएको सन्देशमा राहुलले आफू र प्रियंका गान्धीले मात्र आमाले राजीवको निधनपछि कति कठिन जीवन भोगिन् भन्ने गहिराइमा बुझेको बताएका छन्। उनले आमाको जीवनकथा अन्ततः उनलाई माया गर्ने लाखौँ मानिसले पढ्न पाउने भएकोमा आफू खुसी र गर्वित रहेको बताएका छन्। राहुलका अनुसार सार्वजनिक जीवनमा रहे पनि अत्यन्त निजी स्वभावकी सोनियाका लागि आफ्नो जीवनका यस्ता व्यक्तिगत अध्याय विश्वसामु खोल्नु सजिलो थिएन।

राहुलले सन्देशको अन्त्य राजीव गान्धीलाई स्मरण गर्दै गरेका छन्। उनले राजीवको जन्मदिनमा आफूले आफ्ना पिता आकाशबाट गर्वका साथ सोनियालाई हेरिरहेको कल्पना गरेको उल्लेख गरेका छन्। आमाको जीवन, पारिवारिक दुःख र भारतीय राजनीतिमा उनको भूमिकालाई जोड्ने राहुलको यो अभिव्यक्तिले पुस्तकलाई केवल राजनीतिक संस्मरण नभई गान्धी परिवारको व्यक्तिगत इतिहाससँग समेत जोडेको छ।

बिलोङ्गिङ : अ जर्नी अफ लभ सार्वजनिक भएपछि भारतको समकालीन राजनीतिक इतिहासका धेरै निर्णायक घटनालाई सोनिया गान्धीको आफ्नै आँखाबाट बुझ्ने अवसर प्राप्त हुने अपेक्षा गरिएको छ। इटालीको सानो गाउँबाट भारतको राष्ट्रिय राजनीतिसम्मको उनको यात्रा, राजीव गान्धीसँगको सम्बन्ध, इन्दिरा र राजीवको निधनपछिको जीवन तथा सन् २००४ मा प्रधानमन्त्री पद अस्वीकार गर्ने निर्णयका पछाडिका व्यक्तिगत र राजनीतिक कारणबारे पुस्तकले नयाँ विवरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। प्रकाशक तथा पुस्तकसम्बन्धी आधिकारिक विवरणअनुसार यो संस्मरण व्यक्तिगत कथा हुँदै भारतको पछिल्ला छ दशकको सामाजिक, राजनीतिक र ऐतिहासिक परिवर्तनलाई समेत नजिकबाट हेर्ने एउटा महत्वपूर्ण दस्तावेज बन्नेछ।