काठमाडौँ: महानायक राजेश हमालले सुनसरीमा हालै घटेको दुखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै समाजमा शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्न सम्पूर्ण नेपालीहरुमा हार्दिक अपिल गरेका छन्। एक भिडियो सन्देश जारी गर्दै उनले नेपाल भूगोल वा धार्मिक स्थलहरुको मात्र नभई फरक-फरक विश्वास बोकेका नेपालीहरुको साझा भविष्य निर्माण गर्ने संकल्प भएको बताएका छन्। यदि नेपालीहरु बीचको यो आपसी विश्वास कमजोर भएमा सिङ्गो राष्ट्र नै कमजोर हुने चेतावनी दिँदै उनले आउँदो पुस्तालाई कस्तो वातावरण हस्तान्तरण गर्ने भन्ने कुरा आजको हाम्रो व्यवहारमा निर्भर रहने उल्लेख गरे।
सुनसरीको घटनाले केही परिवार वा क्षेत्रलाई मात्र नभई सम्पूर्ण राष्ट्र र नागरिकलाई मर्महत बनाएको बताउँदै अभिनेता हमालले ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना तथा पीडित परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। कठिन परिस्थितिमा संयमता अपनाउन आग्रह गर्दै उनले प्रतिशोधको बदलामा न्याय र विभाजनको बदलामा सहअस्तित्वको बाटो रोज्न सबैलाई आह्वान गरे। भोलिको इतिहासले हाम्रा शब्दहरुको मात्र नभई कठिन समयमा हामीले गरेका निर्णय र व्यवहारको सही मूल्याङ्कन गर्ने भएकाले समाजमा मेलमिलाप र एकता कायम राख्नु नै आजको मुख्य जिम्मेवारी भएको उनको भनाइ छ।