काठमाडौँ स्थित कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज रायले सरकारी गाडीको दुरुपयोग गरी भ्रामक प्रचार गरिएको भन्दै आधिकारिक विज्ञप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। मिति २०८३/०४/१२ गते सरकारी गाडी लिएर निजी अस्पताल ह्याम्स गएको भन्ने सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारहरूको खण्डन गर्दै डा. रायले उक्त दिन नारायणी अस्पतालमा डा. प्रमोद राममाथि भएको कुटपिटको घटनाबारे चिकित्सकहरू माझ छलफल गर्न मात्र त्यहाँ पुगेको स्पष्ट पारेका छन्। सो दिन देशभरका अस्पतालमा ओ.पि.डी. सेवा बन्द रहेको र आफूले ह्याम्समा कुनै पनि बिरामी नहेरेको विज्ञप्तिमा उल्लेख छ।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक हुनुको पछाडि व्यक्तिगत रिसइबी रहेको डा. रायको दाबी छ। मन्त्रालयको परिपत्र अनुसार सहसचिव वा सोभन्दा माथिल्लो स्तरका कर्मचारीलाई मात्र सवारी साधन उपलब्ध गराउने नियम र अस्पतालमा चालु गाडीको सङ्ख्या घटेकाले करारमा रहेका पूर्वसवारी चालकको म्याद थप गर्न नसकिएको उनले जनाएका छन्। सोही म्याद नथपिएको झोंकमा ती चालकले अस्पताल प्रशासन र निर्देशकलाई गालीगलौज तथा धम्की दिँदै बाहिरिएको र पछि गाडीबाट ओर्लंदै गर्दा भिडियो खिचेर फरक सन्दर्भ र अर्थमा सामाजिक सञ्जालमा भ्रामक रूपमा फैलाएको निर्देशक रायले बताएका छन्।
आफ्नो व्यावसायिक निष्ठा र चरित्र हत्या गर्ने नियतले यस्तो कार्य गरिएको भन्दै उनले साउन १२ गते बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म आफू अस्पतालमै रहेको तथ्य ईलेक्ट्रोनिक हाजिरी र सिसिटिभी रेकर्डबाट पुष्टि हुने स्पष्ट पारेका छन्। एक राष्ट्र सेवक डाक्टरको नाताले बिरामीको उपचार र अस्पतालको गुणस्तरीय व्यवस्थापनमा निरन्तर खटिरहेको बताउँदै उनले आधिकारिक जानकारी नलिई यस्ता भ्रामक, अपुष्ट र तथ्यहीन समाचार सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम तथा आम नागरिकलाई आग्रह गरेका छन्।