तीन सय ५० भन्दा बढी थारु, भोजपुरी, मैथिली र नेपाली म्युजिक भिडियोहरूमा काम गरिसकेकी स्थापित मोडल तथा कलाकार काजल कर्णले नेपाली चलचित्र उद्योगभित्र आफूले व्यहोर्नुपरेको चरम विभेद र अपमानको घटना सार्वजनिक गरेकी छन्।

चलचित्र ‘चिरञ्जिवी भवः’ मा अभिनय गर्न अनुबन्धित भएकी काजलले सुटिङ सेटमा आफूलाई मधेशी भएकै कारण रंगभेद, मानसिक उत्पीडन र सङ्कीर्ण व्यवहारको सिकार बनाइएको खुलासा गरेकी हुन्। सामाजिक सञ्जालमा एक भावुक र आक्रोशपूर्ण स्टाटस लेख्दै उनले फिल्मको निर्माण पक्ष र केही कलाकारहरूमाथि गम्भीर आरोप लगाएकी छन्।

‘मधेशीको रङ यस्तै हुन्छ’ भन्दै अनुहारमा कालो दलियो

काजलका अनुसार फिल्मको सुटिङका क्रममा इटहरी पुग्दा मुख्य अभिनेत्री प्रशंसा रायमाझीले एउटै कोठामा मेकअप गर्न अस्वीकार गर्दै ‘मेरो रुमको माहोल नबिगारिदिनुस्’ भन्दै अपमान गरेकी थिइन्। त्यहाँ मुख्य सहायक निर्देशक (चीफ एडी) नेत्रले काजललाई ‘लुगा खोइ?’ भन्दै थर्काएका थिए भने डिजाइनरले भनेको कुरा सुनाउँदा उल्टै उनीमाथि झर्किए।

त्यति मात्र नभई, स्क्रिप्टमा कतै उल्लेख नभए पनि ‘तराईको मान्छे, गाई-गोठालो हेर्ने मान्छे’ भन्दै मेकअप आर्टिस्टले उनको अनुहारमा जानीजानी कालो रङ दलिदिएको काजलले उल्लेख गरेकी छन्। सेटमा रहेका पुरुष मेकअप आर्टिस्टले समेत “तिमी त मधेसी हौ, मधेसीको रङ यस्तै त हुन्छ नि… तिम्रो तिर भैँसी र गाईलाई कसरी बोलाउँछन्, बोलाएर देखाऊ त” भन्दै खित्का छोडेर उपहास गरेको लेखेकी छन्।

विना जानकारी फिल्मबाट निकालियो, श्रमको मूल्य माग्दा सास्ती

पहिरन र गाडी व्यवस्थापनको नाममा सुरुदेखि नै अपमान सहेकी काजलले स्क्रिप्टमा नभएका फोहोर उठाउने र कुचो लगाउने सिनहरू जबर्जस्ती गराएर आफूलाई कलाकार नभई मजदुरको जस्तो व्यवहार गरिएको गुनासो गरेकी छन्।

पारिश्रमिक र लुगा खर्च माग्दा कार्यकारी निर्माता शैलेश खत्री र प्रोडक्सनका सुवास काफ्लेले झूटो आश्वासन दिएको र अन्ततः निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा आफूलाई कुनै जानकारी नै नदिई फिल्मबाट हटाइएको उनले बताएकी छन्। इटहरी सेटमा पुग्दा आफ्नो ठाउँमा अर्कै कलाकारलाई राखिसकिएको र कपाल मिलाउने (हेयर स्टाइलिस्ट) सञ्चिता ढकालले “तिमी फिल्ममा नहुने भयौ, तिम्रो लुगाहरू छुटेकाले मात्र बोलाएको” भन्दै घाउमा नुन चुक छर्कने काम गरेको काजलको भनाइ छ।

“भूमिका खोसिएला, सपना मर्दैन”

मधेशका छोरीहरूले पारिवारिक र सामाजिक बन्धन तोडेर कला क्षेत्रमा आउन ठूलो संघर्ष गर्नुपर्ने भन्दै काजलले चलचित्र क्षेत्रको यो कुरुप अनुहारविरुद्ध आफू नलुक्ने बताएकी छन्।

“के मधेशी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो?” भन्दै उनले प्रश्न गरेकी छन्, “एउटा भूमिका खोस्दैमा मेरो सपना मर्ने छैन। मधेशको माटोले मलाई लड्न सिकाएको छ, हार्न होइन। म लड्नेछु, आफ्ना लागि र मजस्ता थुप्रै सपना देख्ने मधेशी छोरीहरूका लागि।”

हरिवंश आचार्य र करिश्मा मानन्धर जस्ता दिग्गज हस्तीहरू समेत आबद्ध रहेको भनिएको फिल्म ‘चिरञ्जिवी भवः’ को सेटमा घटेको यो घटनाले नेपाली चलचित्र क्षेत्रभित्र अझै पनि व्याप्त क्षेत्रीय र रङ्गीय विभेदको नग्न रूपलाई सतहमा ल्याइदिएको छ। यस विषयमा फिल्मको निर्माण पक्ष र निर्देशकको धारणा भने आउन बाँकी छ।