राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले सरकारले अघि बढाएको सुकुम्बासी व्यवस्थापनको प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै धितालले सुकुम्बासीहरूको व्यवस्थापन आवश्यक रहेको स्वीकार गरे पनि त्यसको कार्यान्वयन मानवीय संवेदनशीलता, स्पष्ट योजना र राज्यको अभिभावकीय भूमिकाअनुसार हुन नसकेको टिप्पणी गरेकी हुन्।
उनले, “आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले हामी सबैलाई पोल्नुपर्छ। सुकुम्बासीहरूको व्यवस्थापन अत्यन्तै आवश्यक थियो। तर, के यो हाम्रो वाचापत्रअनुसार भयो? के अभिभावकीय राज्य यस्तै हुन्छ?” भन्दै प्रश्न उठाएकी छन्।
धितालले यस्तो संवेदनशील विषयलाई जिम्मेवारीपूर्वक अघि बढाउनुपर्नेमा त्यसो हुन नसकेको उल्लेख गर्दै हालको प्रक्रियाले राज्यको कमजोरी र असक्षमता मात्र उजागर गरेको दाबी गरेकी छन्।
सरकारले पछिल्लो समय थालेको सुकुम्बासी बस्ती हटाउने तथा व्यवस्थापनसम्बन्धी अभियानलाई लिएर राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालाबीच मिश्रित प्रतिक्रिया आइरहेका छन्।