काठमाडौं, स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूलाई सेवा उपलब्ध गराएबापत करिब १३ अर्ब रुपैयाँ भुक्तानी गरेको जनाएको छ। बोर्डका अनुसार उक्त रकम चालु आर्थिक वर्षको मात्र नभई अघिल्ला आर्थिक वर्षहरूदेखि बाँकी रहेको दाबीसमेत समेटेर भुक्तानी गरिएको हो।
बोर्डले नेपाल सरकारबाट प्राप्त अनुदान तथा बीमित नागरिकबाट संकलित प्रिमियम रकम प्रयोग गरी भुक्तानी गरिएको जनाएको छ। यद्यपि, सेवा प्रदायक संस्थाहरूलाई भुक्तानी गर्नुपर्ने दायित्व अझै उल्लेख्य रहेको बोर्डको भनाइ छ।
बोर्डका अनुसार वैशाख मसान्तसम्म करिब १७ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ भने आर्थिक वर्षको अन्त्यसम्ममा यो दायित्व बढेर करिब २२ अर्ब रुपैयाँ पुग्न सक्ने अनुमान गरिएको छ।
बाँकी रहेको सोधभर्ना रकम व्यवस्थापनका लागि नेपाल सरकार तथा सम्बन्धित सरोकारवालासँग निरन्तर समन्वय र पहल भइरहेको बोर्डले जनाएको छ। आवश्यक स्रोत सुनिश्चित हुनेबित्तिकै बाँकी रकम यथाशीघ्र भुक्तानी गरिने प्रतिबद्धता पनि बोर्डले व्यक्त गरेको छ।
स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमप्रति सहयोग, धैर्यता र विश्वास कायम राख्ने सेवा प्रदायक स्वास्थ्य संस्था, बीमित नागरिक तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गरेको छ।