चितवनमा आयोजित राष्ट्रिय रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रको सुदृढीकरण, पारदर्शिता र आलोचनाप्रतिको सम्मानलाई प्राथमिकता दिन रास्वपालाई सुझाव दिएका छन्।

ज्ञवालीले संसद, आलोचनात्मक आवाज र जनताका सुझावहरूलाई कमजोर बनाउने प्रवृत्ति बढे जनमत सधैं कायम नरहन सक्ने चेतावनी दिए। उनले रास्वपाले लोकतन्त्रलाई बलियो बनाउने आफ्नो प्रतिबद्धताअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रारम्भिक चरणमा देखिएका केही घटनाहरू अपवादका रूपमा सीमित हुनुपर्ने बताए।

“यदि संसद कमजोर भयो, आलोचनाका स्वरहरू बेवास्ता भए र पारदर्शिताको सट्टा अपारदर्शिता बढ्यो भने जनमत सधैंभरि रहिरहन सक्दैन,” उनले भने।

रास्वपामा काम गर्ने तीव्र उत्साह देखिएको उल्लेख गर्दै ज्ञवालीले हतारोभन्दा सन्तुलित निर्णयको आवश्यकता औंल्याए। “गाडीमा एक्सेलरेटरसँगै ब्रेक पनि हुन्छ। ब्रेक र एक्सेलरेटरको सन्तुलन भएन भने दुर्घटना हुन सक्छ,” भन्दै उनले उत्साह र विवेकबीच सन्तुलन कायम गर्न आग्रह गरे।

महाधिवेशन सफलताको शुभकामना दिँदै उनले रास्वपाले आफ्नो पार्टीका लागि मात्र नभई देश र जनताका लागि पनि भरोसा जगाउने भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे। साथै, कार्यक्रममा नेकपा (एमाले) लाई आमन्त्रण गरी खुसी साट्ने अवसर दिएकोमा उनले धन्यवाद व्यक्त गरेका थिए।