पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ।
लेखिकाले देशको अन्तरिम सरकारको नेतृत्व गरिरहेको सबैभन्दा चुनौतीपूर्ण समयमा यो पुस्तकको सिर्जना गरेकी हुन्। जेनजी आन्दोलनले तत्कालीन सरकारलाई विस्थापित गरेपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा राष्ट्र अनिश्चितताको भुमरीमा थियो। यस्तो बेलामा पनि लेखिकाले आफ्नो कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर यो कृति लेखेकी हुन्।

लेखिकाले आफ्ना नातिलाई समर्पित गरेको यस पुस्तकले अपार प्रेम, आशा र सकारात्मकताको सन्देश दिन्छ। चराचुरुङ्गी र जनावरहरूबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य, प्रेम र पारस्परिक निर्भरताको सन्देश प्रवाह गरेको छ। कौतुहल र मनोरञ्जनले भरिपूर्ण भएकाले कथावस्तु रोचक बनेको छ।

लेखिका सुशीला कार्कीका दुई कृति ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) नेपाली भाषाका सर्वाधिक बिक्री भएका पुस्तकहरूमा पर्छन्। यसबाहेक उनी चर्चित कृति ‘लैङ्गिक समानता’ र ‘महिलावाद’ (नारीवाद) की पनि लेखक हुन्।

पुस्तक अन्योल र अनिश्चितताको युगमा हुर्किरहेका विश्वभरका बालबालिकाका लागि बहुमूल्य उपहारका रूपमा आएको लेखिका स्वयंले बताएकी छन्।
उक्त पुस्तक चाँडै बजारमा उपलब्ध हुनेछ।

पुस्तक अर्डर गर्न ९७०४९०२२३५  मा सम्पर्क गर्न सकिन्छ ।