क्याम्पेन फर चेन्ज (CfC) ले आफ्नो ९औं वार्षिकोत्सव काठमाडौंमा भव्य रूपमा मनाएको छ। कार्यक्रम संयोजक अर्चना पोखरेलले अन्तरलिङ्गी अभियान किन र कसरी शुरुवात भयो CfC का कार्यकारी निर्देशक इशान रेग्मीले वि.सं. २०७३ मा अन्तरलिङ्गी सम्बन्धी कार्यशाला आयोजना गरेको उल्लेख गर्दै त्यसयता यस संस्थाले निरन्तर रूपमा अन्तरलिङ्गी मुद्दामा वकालत गर्दै आएको बताउनुभयो । अन्तरलिङ्गी चुनौतीहरूको चर्चा गर्दै पोखरेलले राज्य संरचनामा भएका व्यक्तिहरूमा बुझाइको कमी, अन्तरलिङ्गी बालबालिकाको असहमतिमा हुने चिकित्सा अभ्यास , विद्यालय र स्वास्थ्य संस्थाबाट बहिष्कार, स्पष्ट कानुनी संरचनाको अभाव, पाठ्यक्रम र स्वास्थ्यनीतिमा अन्तरलिङ्गी मुद्दा समावेश नहुनु तथा अन्तरलिङ्गी अस्तित्वलाई रोगको रूपमा बुझ्नु मुख्य चुनौतीहरू रहेको जिकिर गर्नुभयो। CfCमा देशभरबाट २०० जना अन्तरलिङ्गी जोडिएका छन् भने संस्थाले २१ जनालाई जीविकोपार्जन र शिक्षामा प्रत्यक्ष सहयोग गर्दै आएको छ। चारवटा प्रदेशमा सञ्जाल भएको संस्थाको सातवटै प्रदेशमा विस्तार गर्ने भावी योजना छ।

अन्तरलिङ्गी भनेको एक वा एक भन्दा बढी जन्मजात यौन बिशेषताहरूको शारीरिक विविधता (यौनाङ्ग, प्रजनन् अंग, गुणसुत्र (क्रोमोजोम), वा हर्मोनहरू) लिएर जन्मेका व्यक्तिहरूलाई वर्णन गर्ने छाता शब्द हो। जुन पुरुष वा महिला शरीरका लागि निर्धारण गरेका सामाजिक र चिकित्सा मापदण्ड तथा परिभाषाहरूमा फिट हुँदैन। अन्तरलिङ्गी व्यक्तिहरूको संख्या जम्मा जनसंख्याको लगभग २ प्रतिशत रहेको छ जसमा केहि विविधताहरू बच्चा जन्मने बेला, बाल्यकाल वा किशोरावस्थामा र केही विविधताहरू वयस्क अवस्थामा थाहा हुन सक्छ भने कतिपय विविधताहरू कहिले थाह नहुन पनि सक्छन्। यस्ता सबै खालका अन्तरलिङ्गी विविधता भएका व्यक्ति र उनीहरूका अनुभवहरू उत्तिकै मूल्यवान र महत्वका हुन्छन्।

कार्यक्रममा छ महिना अघि सुरु भएको अन्तरलिङ्गी अनुसन्धान फेलोसिपबाट छनोट भएका चार जना युवा अनुसन्धानकर्ताद्वारा तिनवटा प्रतिवेदन यो वार्षिकोत्सवमा प्रस्तुत गरिएको थियो। पहिलो प्रतिवेदन नयना कर्माचार्य र स्वर्णिका पुडासैनीले “नेपालमा अन्तरलिङ्गी मनोवैज्ञानिक उत्थानमा परिवारको भूमिका” शीर्षकमा प्रस्तुत गर्नुभयो। यसको निष्कर्षहरूमा धेरै परिवारमा सीमित बुझाइ, अन्तरलिङ्गीले पूर्वाग्रह, भ्रम, डर र अनिश्चिततासँग सामना गर्नुपर्ने, पहिचान लुकाउने र नागरिकतासम्बन्धी समस्या छन्। परिवारको साथ र समर्थन भए सकारात्मक परिणाम आउँछ भने उपेक्षा र नियन्त्रण हुँदा तनाव र आत्मविकासमा कमी हुने देखाएको छ।

दोस्रोमा पवन पौडेलको “काठमाडौं उपत्यकामा अन्तरलिङ्गीले भोग्नुपर्ने भेदभाव” सम्बन्धमा प्रस्तुतिकरण थियो। उहाँले आफ्नो प्रतिवेदनमा स्वास्थ्य, शिक्षा, नीति र सामाजिक सम्बन्धमा अन्तरलिङ्गीले भोग्नुपर्ने भेदभावलाई मुख्य आधार मान्नुभएको थियो। उहाँले निष्कर्षहरूमा भेदभाव विभिन्न क्षेत्रमा फरक छ, उमेरसँगै भेदभाव बढ्दै जान्छ, यो बहुआयामिक छ र नीति र अभ्याससँग तालमेल नमिलेको जिकिर पनि गर्नुभयो।

तेस्रोमा आर्या खरेल “LGBTQ+ फराकिलो दायरामा अन्तरलिङ्गी मुद्दा” मा सामाजिक, संस्थागत र स्वास्थ्य क्षेत्रका अनुभवहरू उल्लेख गर्दै गैरसहमत शल्यक्रिया, विद्यालय छोड्नुपर्ने बाध्यता, अन्तरलिङ्गी पहिचान मान्यता नहुनु, शरीरको ज्ञानको अभावमा पहिचान विकास सुरु हुने, बढ्दो जागरण तर अपर्याप्तता र प्रणालीगत संरचनामा अन्तरलिङ्गी श्रेणीको अभाव उहाँका निष्कर्षहरू थिए। साथै पराजुलीले अन्तरलिङ्गी अनुसन्धानको अभाव खड्किएको हालको स्थितिमा आफ्नो अनुसन्धानले दक्षिणी ध्रुवको अन्तरलिङ्गी दृष्टिकोण चित्रण गर्ने धारणा व्यक्त गर्नुभयो।

अन्त्यमा CfC का कार्यक्रम प्रबन्धक सुनिल चिमरियाले राज्यले जनगणनामा अन्तरलिङ्गी गणना समावेश नगर्दा यकिन तथ्यांकको अभावमा अनुसन्धान अगाडि बढाउन कठिनाइ भएको अवगत गराउनुभयो। साथै यी तीन अनुसन्धानले अन्तरलिङ्गी सम्बन्धी अध्ययनले नीतिगत रुपमा पैरवी गर्न कोसेढुंगा साबित हुनेमा विश्वस्त रहेको उल्लेख गर्नुभयो।