चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालमा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा विजयी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिँदै भविष्यमा सहकार्य विस्तार गर्न तत्पर रहेको जनाएको छ।

सीपीसीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागले ११ मार्च २०२६ मा बेइजिङबाट पठाएको बधाई सन्देशमा रास्वपाको विजयप्रति खुसी व्यक्त गर्दै नेपालको संघीय संसदअन्तर्गत प्रतिनिधिसभा निर्वाचनमा प्राप्त सफलताको प्रशंसा गरिएको छ।

सन्देशमा चीन र नेपालबीच पहाड र नदीले जोडिएको दीर्घकालीन मित्रताबारे उल्लेख गर्दै दुई देशबीचको रणनीतिक सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै, उच्चस्तरीय मार्गदर्शनमा दुई देशबीच विकास र समृद्धिका लागि दीगो साझेदारी स्थापित भएको उल्लेख गरिएको छ।

सीपीसीले नयाँ परिस्थितिमा नेपालसँग राजनीतिक विश्वास अझ गहिरो बनाउँदै गुणस्तरीय बेल्ट एण्ड रोड सहकार्यलाई अघि बढाउने र साझा भविष्यसहितको चीन–नेपाल समुदाय निर्माण गर्ने लक्ष्य रहेको जनाएको छ।

त्यस्तै, विगतदेखि नै रास्वपासँग मैत्रीपूर्ण सम्बन्ध कायम रहेको उल्लेख गर्दै पार्टी नेतृत्वअन्तर्गत चीनसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ। आपसी आदानप्रदान, सहकार्य र अनुभव साटासाटलाई थप सुदृढ गर्दै द्विपक्षीय सम्बन्धलाई स्थिर, सुदृढ र दीगो दिशामा अघि बढाउने प्रतिबद्धता पनि सन्देशमा व्यक्त गरिएको छ।